पोखरा – कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ ।
परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नका लागि कास्कीमा मात्रै ४०स्वास्थ्य संस्था छन् । गर्भपतन गर्नेमा शहरका महिला बढी हुने गरेको उनको भनाइ छ । “कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकी मात्रै गाउँका महिला सेवा लिन आउँछन् ।” प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनी बताउछन् ।
त्यसैगरी कास्कीमा असुरक्षित गर्भपतनको समस्या बढिरहेको अधिकारी बताउनुहुन्छ । “ एघार प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ ।” उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताइएको छ ।
गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा रहेकाहरु छन् । परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारीको भनाइ छ । उनी भन्छन् “ परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन केही कम गर्न सकिन्छ ।” छोराको आशमा छोरीको भ्रुण हत्या गर्नेहरुका कारणले पनि गर्भपतन बढ्ने गरेको उनको भनाइ छ । गर्भपतन कम गर्नलाई महिला स्वयंले आफ्नो प्रजनन स्वास्थ्य अधिकारका बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनुपर्ने उनको सुझाव छ ।