Logo

दशैंलाई लक्षित गरी दैनिक उपभोग्य वस्तु चिनी , मैदा, तेलकाे मूल्यमा वृद्धि



Spread the love

असोज १० काठमाडौं – दशैंलाई लक्षित गरी व्यापारीले पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् ।
अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीले बताउने गरेका छन् ।
आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ । अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।

चिनीको भाउ पनि आकासियो

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यले चिनीको मूल्य बढेको बताए । उनले आयातित चिनी र स्वदेशी चिनीको मूल्य फरक रहेकोमा सरकारले कोटा तोकेपछि एकनास भएको जानकारी दिए । चिनीको मूल्य दशैंसम्म अझै बढ्ने देखिएको खुद्रा व्यापारी बताउँछन् । सरकारले चिनीको आयातमा एक लाख मेट्रिक टनको कोटा तोकेपछि आन्तरिक बजारमा चिनीको मूल्यमा व्यापारीको मनपरी देखिएको छ । भारत, पाकिस्तान, बंगलादेशबाट सस्तोमा आयात गरिसकेका व्यापारीले स्टक रहेको चिनीकै मूल्य बढाएको खुद्रा व्यापारीहरु बताउँछन् । अहिले चिनीको खुद्रा विक्रि मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्‍याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्