Logo

जनप्रतिनिधिले रिक्त विवरण अझै पठाएनन्



Spread the love

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् ।

मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय तहलाई रिक्त रहेको विवरण पठाउन भने पनि अहिलेसम्म १५ जिल्लाले मात्र सो सम्बन्धी विवरण पठाएको सङ्घीय महाशाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।

मन्त्रालयले एक हप्ताभित्र रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउने भने तापनि अझै नपठाएको उनले बताए । ‘हामीले रिक्त रहेका जनप्रतिनिधिको विवरण जिल्ला समन्वय समितिको कार्यालयमार्फत माग गरेका थियौं’ उनले भने, ‘‘तर अहिलेसम्म १५ जिल्लाका विवरण मात्र प्राप्त भएको छ ।’

उनका अनुसार मोरङ, अछाम, सिन्धुपाञ्चोक, काठमाडौं, धनकुटा, डोटी, सिराहा, पर्सा, अर्घाखाँची, लमजुङ, मनाङ, सङ्खुवासभा, सिन्धुली, जाजरकोट र धादिङ जिल्लाका ९६ स्थानीय तहका ११२ जना जनप्रतिनिधि रिक्त रहेका छन् । तीमध्ये धेरैजसो जिल्ला समन्वय समितिमा निर्वाचित भएर रिक्त रहेको शाखा अधिकृत जोशीले बताए ।

निधन भएरपनि केहि जनप्रतिनिधिको पद रिक्त भएका छन् । उनले रिक्त जनप्रतिनिधिमध्ये उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडाध्यक्ष मात्र निर्वाचन हुने जानकारी गराए ।

वडा सदस्यको हकमा भने निर्वाचन नहुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता महेन्द्रनाथ भट्टराईले मन्त्रालयले रिक्त रहेको विवरण पठाए र सरकारले निर्वाचन घोषणा गरेपछि उपनिर्वाचन गर्न तयार रहेको बताए ।

‘हामीसँग निर्वाचनका सबै सामग्री तयारी अवस्थामा छन्’ उनले भने, ‘सरकारले घोषणा गर्नासाथ उपनिर्वाचन गर्न तयार छौ ।’

प्रतिक्रिया दिनुहोस्