Logo

विश्वमा आत्महत्या गर्ने तीनमध्ये एक महिला भारतीय



Spread the love

 विश्वभर आत्महत्या गर्ने महिलाहरुमध्ये हरेक तेस्रो महिला भारतीय हुन्छन् । त्यस्तै आत्महत्या गर्ने चारमा एक पुरुष भारतीय हुन्छन् ।

भारतीय आर्युविज्ञान अनुसन्धान परिषद र पब्लिक हेल्थ फाउण्डेशन अफ इण्डियाले यो खुलासा गरेको हो ।

बुधबार सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार अनुसन्धानकर्ताहरुले १९९० देखि २०१६ बीच भएका आत्महत्याको तथ्याङ्कको विश्लेषण गर्ने क्रममा यो नतिजा निकालेका हुन् ।

रिपोर्टमा सन् १९९० मा भारतमा कुल १,६४,४०४ मानिसहरुले आत्महत्या गरेका बताइएको छ जुन सन् २०१६ मा ४० प्रतिशतले बढेर २,३०३१४ पुगेको थियो ।

सन् २०१६ मा विश्वभर ८,१७,१४७ आत्महत्या भएकाले भारतमा सोही वर्ष भएको आत्महत्या विश्वको २८.२% हुन आउँछ । यसमा महिलाहरुको आत्महत्या ९४,३८० रह्यो, जुन विश्वको महिलाहरुको कुल आत्महत्या २,५७,६२४ को ३६.६% हुन आउँछ ।

उता सोही वर्ष भारतमा १,३५,९३४ सङ्ख्यामा पुरुषहरुको आत्महत्या भएको थियो, जुन संसारको पुरुषहरुको कुल आत्महत्या ५,५९,५२३ को २४.३ प्रतिशत हो ।

सन् २०१६ को तथ्याङ्कलाई मान्ने हो भने त्यो भारतमा भएको कुल मृत्युको ९ औं कारण थियो ।

रिपोर्ट अनुसार भारतमा महिलाहरुले आत्महत्या गर्ने दर प्रति एक लाख १४.७ थियो । पुरै संसारमा यो दर प्रति एक लाखमा ७ छ । यसबाट पनि भारतमा महिलाहरुमा बाँकी दुनियाको भन्दा आत्महत्याको दर दुई गुणाभन्दा बढी देखिन्छ ।

युवाहरु गर्छन् सबैभन्दा बढी आत्महत्या 

उमेर समुहको हिसाबमा हेर्ने हो भने भारतमा सबैभन्दा बढी आत्महत्या १५ देखि ३९ उमेर समूहमा भइरहेको देखिन्छ । सन् २०१६ मा आत्महत्या गर्ने भारतीय महिलाहरुमध्य ७१.२ % महिलाहरु यही उमेर समुहका थिए ।

त्यस्तै पुरुषहरुमा पनि सबैभन्दा बढी आत्महत्या यही उमेर समुहमा हुने भए पनि महिलाको तुलनामा यो दर निक्कै कम देखिन्छ ।

सन् २०१६ मा आत्महत्या गर्ने भारतीय पुरुषहरुमा ५७.६५ % यो उमेर समुहबाट थिए । स्रोत एजेन्सी 

प्रतिक्रिया दिनुहोस्