जिल्लाका एक तिहाइ भूकम्पपीडितले मात्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिएका छन् ।
दुई तिहाइ भूकम्पपीडित अहिलेसम्म अनुदानको दोस्रो किस्ता लिन सम्पर्कमा आएका छैनन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सात सय ८० जनाले पहिलो किस्ता अनुदान लिएका छन् । हालसम्म २४४ भूकम्पपीडितले मात्र दोस्रो किस्ताबापतको अनुदान लिएको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो । सोह्र जनाले तेस्रो तथा अन्तिम किस्ता अनुदान लगेका छन् । एघार जना दोस्रो किस्ता तथा २५ जना तेस्रो किस्ताका लागि प्रक्रियामा छन् भने चार सय २५ भूकम्पपीडितले सूचीमा छुटेको भन्दै गुनासो दर्ता गराएका छन् ।
आव २०७३/ ७४ मा चार तथा आव २०७४/ ७५ मा सात विद्यालय भवन पुनःनिर्माण गरिएका छन् । चालू आवमा पुनःनिर्माणका लागि ४० विद्यालयले आवेदन दिएको छ । आयोजनामार्फत रु ४४ करोड बजेट स्वीकृत भएको पोखरेबगर घार खिवाङ शिख चित्रे सडकको ठेक्का प्रक्रिया अघि बढेको छ । विभिन्न माध्यमबाट निजी आवास पुनःनिर्माणलाई गति दिन पहल गरिए पनि दुई तिहाइभन्दा बढी भूकम्पपीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको आयोजना प्रमुख गेलालले बताउनुभयो ।
भुकम्पबाट कम प्रभावित जिल्लामा एक हजार ३५० घरको सर्वेक्षण गरिएको थियो । प्राधिकरणले २०७६ असार मसान्तसम्म अन्तिम तथा तेस्रो किस्ताबापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखेको छ । यसअघि २०७५ असार मसान्तसम्म दोस्रो किस्ता र २०७५ पुससम्म तेस्रो किस्ता अनुदान वितरण गर्ने कार्ययोजना बनाएको थियो । पहिलो किस्ता रु ५० हजार तथा दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था छ । घर निर्माणको काम सकेपछि तेस्रो किस्ताबापत रु एक लाख ५० हजार उपलब्ध गराउने कार्यविधि छ । राजनीतिक दबाब, प्रशासनिक लापरवाही, सरकारी निकाय र प्राविधिकसमेतको मिलेमतोमा खडा भएका नक्कली भूकम्पपीडित बढी हुनु पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारण बनेको सरोकारवाला बताउँछन् । भूकम्पपीडितले भने प्राविधिक सेवा र दक्ष जनशक्तिको अभावमा पुनः निर्माणमा ढिलाइ भएको बताएका छन् ।
रासस