आज आइतबार देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत सवारी प्रयोग गरेका छन् । डिजेल/ पेट्रोलबाट चल्ने गाडी महँगो पर्ने र वातावरणमा नकारात्मक असर पुग्ने भन्दै मन्त्री पुनले विद्युतीय गाडी प्रयोग गर्ने निर्णय गरेका हुन् ।
पुनले चढ्ने गाडी करिब ५६ लाख रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गरेर मन्त्रालयलाई उपलब्ध गराएको हो ।
उक्त गाडीको नम्बर बा२झ ८९०३ रहेको छ । गाडी निर्माण कम्पनीका अनुसार गाडीको ब्याट्री २००० पटकसम्म रिचार्ज गर्न सकिन्छ र प्रत्येक पटकको रिचार्जमा ३०० देखि ४०० किलोमिटर गुडाउन सकिन्छ ।
प्राधिकरणले अहिलेसम्म विद्युतीय सवारी प्रयोग गरेको छैन । तर, प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले ४ वटा विद्युतीय सवारी प्रयोग गरेको छ ।
उर्जा मन्त्रालयले थप ३ वटा नयाँ विद्युत सवारी खरिद प्रक्रिया अघि बढाएको छ ।