बनगाड कुपिण्डे नगरपालिका- १ नाम्राका स्थानीयहरु भेरी नदिको पानी धमिलो भएपछि चिन्तित हुन थालेका छन् । वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका करिब ६० घरपरिवार रहेको गाउँका बासिन्दाले नदिको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् ।
वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या भएको स्थानीयवासी गोपिलाल आचार्यले जानकारी दिए । नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको उनको भनाइ छ । स्थानीयहरुलाई धमिलो र फोहर छ भन्ने थाहा हुँदा पनि नदिको पानीको विकल्प छैन ।
“गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ । तर विकल्प नै नभएपछि के गर्ने ?” आचाार्यलेे भने, नदीबाट पानी ल्याएर केहीसमय राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी वीरबल पोखरेलले गुनासो गरे । त्यस क्षेत्रमा खानेपानी ल्याउन र नुहाउन जाँदा बर्षेनी मानिसहरू भेरी नदिमा बेपत्ता हुने गरेका छन ।