Logo

कसले जित्लान् युरोपको उत्कृष्ट फुटबलर अवार्ड ? रोनाल्डो, सलाह कि मोड्रिक !



Spread the love

युरोपको उत्कृष्ट फुटबलर पुरुषतर्फ तीन खेलाडीको नाम मनोनयनमा परेको छ । मनोनयनमा पर्नेमा युभेन्टस, पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडका क्रोएसिया कप्तान लुका मोड्रिक र लीभरपुल इजिप्टका फरवार्ड मोहमद सलाह रहेका छन् ।
मोड्रिक र रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिग जिताएका थिए भने सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल पुग्न मद्दत गरेका थिए ।

 

यो सिजनमा युभेन्टसमा आवद्ध भएका रोनाल्डोले १३ च्याम्पियन्स लिगका खेलमा १५ गोल गरेका छन् । त्यस्तै, सलाहले १५ खेलमा ११ गोल गरेका छन् । मोड्रिकले धेरै गोल नगरेपनि च्याम्पियन्स लिगमा रियल मड्रिडलाई फाइनल पुर्याउन र जित दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

यसअघि दुई पटकको अवार्ड विजेता लियोनल मेस्सी यसवर्ष मनोनयनमा परेका मध्ये ५ औं खेलाडीमै सिमित रहे । एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे, इडन हजार्ड सर्जियो रामोस लगायतका खेलाडी पनि मुख्य तीन खेलाडीमा पर्न सकेनन् ।

तीन खेलाडीको सुची च्याम्पियन्स लिग र युरोपा लिगको समुह चरणमा छनौट भएका ८० प्रशिक्षक र युरोपियन खेलकुद मिडिया समुहले छानेका ५५ खेल पत्रकारको गोप्य मतबाट छानेका थिए । प्रशिक्षक र पत्रकारहरुले पहिलोलाई ५ दोस्रोलाई ३ र तेस्रो स्थानको खेलाडीलाई एक अंक दिएका थिए । विजेताको घोषणा भने अगस्ट ३० मा च्याम्पियन्स लिगको समूह चरण सुरु हुँदा गरिनेछ ।  एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्