Logo

विश्वका १० उत्कृष्ट सहर



Spread the love

अस्ट्रेलियाको मेल्बर्नलाई उछिन्दै यस वर्ष अस्ट्रियाको भियना विश्व भरिका बस्नयोग्य सहरहरूमध्ये सर्वोत्कृष्ट ठहरिएको छ। इकोनमिस्ट इन्टेलिजेन्स युनिटले बनाएको उत्कृष्ट सहरहरूको सूचीमा युरोपेली सहरले शीर्ष स्थान प्राप्त गरेको यो पहिलो पटक हो ।

आधार के?

यस वर्षको सूचीमा १४० सहरहरू समावेश छन्। उत्कृष्टता मापन गर्न राजनीतिक र सामाजिक स्थिरता, अपराधको दर, शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुँच आदिलाई आधार मानिएको थियो ।

कुन सहर बस्न ‘योग्य’ र कुन ‘अयोग्य’

सर्वेक्षणमा कुनैपनि युरोपेली सहरमध्ये सबभन्दा धेरै सुधार म्यानचेस्टरमा देखिएको छ। पहिलेभन्दा १६ स्थान उक्लँदै म्यानचेस्टर ३५ ‌औँ योग्य सहर बनेको छ।

यस सर्वेक्षणमा म्यानचेस्टर, लन्डनभन्दा १३ स्थानले अगाडि रहेको छ । दुई दशकअघि सो सर्वेक्षण सुरु भएयता दुई सहरहरूबीच यसपालि सबभन्दा धेरै अन्तर देखिएको छ ।

ईआईयूका अनुसार म्यानचेस्टरले सुरक्षामा व्यापक सुधार गरेका कारण सो सहर उक्त स्थानमा पुगेको हो। गत वर्ष म्यानचेस्टर अरिनामा भएको एउटा आक्रमणमा २२ जना मारिएको घटनालाई लिएर म्यानचेस्टरलाई घटुवा गरेपछि उक्त सर्वेक्षणको आलोचना भएको थियो।

म्यानचेस्टरमा भएको सो ठूलो आतङ्कवादी आक्रमणपश्चात् सो सहर फेरि स्थिरतातर्फ उन्मुख भए उच्च क्षमता प्रदर्शन गरेको सर्वेक्षणकी सम्पादक रोक्साना स्लाभ्चेभाले बताएकी छन्।

स्लाभ्चेभाले भनिन् – थुप्रै युरोपेली सहरहरूमा पनि यसपालि सुरक्षामा सुधार आएको छ। भियना पहिलो स्थानमा हुनु पनि युरोपका थुप्रै सहरहरूमा स्थिरता भएको सङ्केत हो।

को तल?

सर्वेक्षणका अनुसार गत वर्ष करिब आधा सहरहरूले बस्न योग्यको सूचीमा सुधार गरेको देखिएको छ। यो वर्ष दोस्रो स्थानमा रहेको मेल्बर्न पहिले सात वर्षसम्म पहिलो स्थानमा रहेको थियो।

यो वर्ष दुई अन्य अस्ट्रेलियाली सहरहरू सिड्नी र एडिलेडले पनि उच्च दश स्थानमा परेका छन्।

सिरियाको युद्धग्रस्त दमास्कस बस्न योग्य रहेको सहरको सूचीमा सबभन्दा पुछारमा रहेको छ।

बाङ्ग्लादेशको ढाका र नाइजिरियाको लेगसले पनि बस्न अयोग्य सहरको सूचीमा छन्।

ईआईयूका अनुसार कुनै सहर बस्न अयोग्यमा सूचीकृत हुनुमा अपराध, आतङ्कवाद वा युद्धले प्रमुख भूमिका खेलेका छन्।

सन् २०१८ मा बस्न योग्य १० उत्कृष्ट हर

१. भियना, अस्ट्रिया

२. मेल्बर्न, अष्ट्रेलिया

३. ओसाका, जापान

४. क्याल्गरी, क्यानडा

५. सिड्नी, अष्ट्रेलिया

६. भ्यानकुभर, क्यानडा

७. टोक्यो, जापान

८. टोरोन्टो, क्यानडा

९. कोपन्हेगन, डेनमार्क

१०. एडिलेड, अस्ट्रेलिया

सन् २०१८ मा बस्न अयोग्य १० सहर

१. दमास्कस, सिरिया

२. ढाका, बाङ्ग्लादेश

३. लेगस, नाइजिरिया

४. कराची, पाकिस्तान

५. पोर्ट मोर्ज्बी, पपुवा न्यू गिनी

६. हरारे, जिम्बाब्वे

७. त्रिपोली, लिबिया

८. ड्वाला, क्यामरुन

९. अल्जियर्स, अल्जेरिया

१०. डकार, सेनेगल (बिबिसी ) 

 

प्रतिक्रिया दिनुहोस्