- अनुशा आचार्य
फेब्रुअरी ७ । सन २०१५ ।
पाटनको एउटा चिया पसलमा बसेर चियाको बाँफिलो चुस्की लाउदै थिएँ । पत्रिकाका कस्मेटिक समाचारहरुमा यसो आँखा डुलाउदै गर्दा एउटा मान्छे मेरो नजिकै थचक्क बस्न आइपुग्यो ।
चिया पसल मेरो रेगुलर लोकेसन थियो । म अक्सरजसो पुगिरहन्थे त्यहाँ । त्यसकारण पनि त्यहाँ आउने प्राय सबै ग्राहकहरु म चिन्थे ।
तर, भर्खरै मेरो छेउमा आएको मान्छे भने केही बिरानो थियो । म उसँग बिल्कुल पहिलो पल्ट भेटिरहेकी थिए ।
“ओ, दाइ ! यसो एक कप तात्तातो चिया ल्याउनुस् त ।”
मेरो नजिकैको कुर्सि तानेर ऊ बसिसकेको थियो।
एक अन्जान मानिस । जो सँग मेरो न पहिले कहिल्यै भेट भएको छ, न त कुराकानी नै । तर पनि ऊ भने कति सजिलै मेरो सामिप्यमा बिल्कुल कुल मुडमा सकेको होला ? म छक्क परें ।
उसको त्यो सामान्य उपस्थितिले नै अकमक्क परिसकेकी म बिचरी, झनमाथि उसका लोलाएका नजर र मन्ध मुस्कानका अगाडि बिस्तारै स्तब्ध हुँदै गैरहेथें ।
मान्छे एकदम फर्वाड रैछ ।
सुरुसुरु म भएतिर हात अघि बढायो र भन्यो, “म दीक्षित । यस ठाउँमा नयाँ हुँ । दुईचार दिन मात्रै भयो यहाँ आएको ।”
ऊ गफ्फिदै गयो ।
जवाफमा म पनि सुस्तसुस्त गफ मिसाउने प्रयासमा थिए । चुपचाप रहेर मलाई मेरो कमजोरी पटक्कै देखाउनु थिएन । म सक्दो स्मार्ट बन्न चाहन्थे।
गफ हुदै गए ।
त्यही गफगाफकै शिलशिलामा थाहा भयो, उ एक समाजसेवी रहेछ । नेपालका विकट ठाउँहरुमा गएर उसले पीडितहरुको उद्धार गरिरहेको रहेछ । ऊ बिल्कुल मनैदेखी आफु र आफ्नो सोच अनि कामबारे बताइरहेको थियो ।
बोलीले हो या उसको हेराईले, कुन्नी कसरी-कसरी उसले मलाई छोटो समयमा नै निकै प्रभावित पारिसकेको थियो ।
त्यो भेट करिबकरिब यस्तैमा सकियो ।
त्यसपछी पनि भेटहरु दिनहुजसो भैरहे ।
बिस्तारै ऊ मेरो दैनिकी भैरहेको थियो ।
बिहान सबेरै उठ्यो, मर्निङ वाकमा निस्कियो, चिया पसलमा छिर्यो, उसलाई कुर्यो, उस्को मन्द मुस्कान र चियाको कक्टेल चुस्की लिदै मजाले गफ्फियो । बस् ! दिनहरु यसरी नै कटिरहेथे ।
बिस्तारै लाग्थ्यो कि सधै ऊ सँगै बसीरहन पाउँ । उसकै समिपमा, उसको सुगन्धमा रम्न पाउँ । चिया खादै बिताएका १-२ घण्टा पनि दिनप्रतिदिन झन्झन कम लाग्न थाले ।
०००
फेब्रुअरी १२ को एक विहान ।
सधै झै, चिया खाँदै थियौं हामी ।
गफैगफको शिलशिलामा उसले भन्यो,“ए साँच्ची ! सुन त, भोलि म बिहानै कामको क्रममा लुक्ला जाँदै छु नि ।”
म अचम्म परें ।
ऊ लगातार, चिया खाँदा अब म एक्लै हुने भए भन्दै जिस्क्याइरहेको थियो ।
म भने पुरै बेहोसीमा थिए । ओठ, मुख, घाँटी सबै एकैपल्ट सुकेका थिए । छेउको जगबाट पानी उठाएर खाने जाँगर पनि थिएन ।
बल्ल बल्ल म बोलें, “कहिल्यै आउँदैनौ र अब चिया खान ?”
मेरा नयन ओसिला भएका थिए, अनुहार भारिलो । “धत् ! लाटी, पर्सि बिहानै फर्किहाल्छु नि ।”
धन्न केही मिठो सुन्न पाए मैले ।
लामो सास फेरे मैले ।
ओठ, मुख, घाँटी बिस्तारै रसिला हुन थाले ।
“गुलाबको फूल त सबैले दिन्छन् नि कान्छी, म त तिम्रो लागि भिरैभिरको त्यो रा~~~~~तो लालीगुराँस टिपेर ल्याइदिन्छु है, पर्सि । हस् !”
ऊ मुसुक्क मुस्कुरायो, म लाजले मसक्क लजाएँ ।
ऊ लुक्ला हिड्यो ।
०००
अर्को दिन, लुक्लाको काम सक्काएर हिड्नु अघि बिहान सबेरै उसले फोन गर्यो ।
“भोलि त म बिहानै आईपुगी हाल्छु । चिया मात्र होइन, घुम्न नि जान पर्छ है ?”
लाज भनौँ या खुसी, म उसले यति भनेपछि, अर्को दिनको पर्खाइमा डुबिरहें ।
त्यो दिन, दिनैभरीजसो एकोहोरो कल्पनामै हराइरहें म ।
०००
अर्को दिन बिहानै उठेर तयार हुन थालेँ । उसलाई लिन एयरपोर्ट नै जाने निधो गरेँ । म उसलाई सर्प्राइज दिन चाहन्थे ।
चिटिक्क परेर म निस्किएँ र लागे आफ्नो पहिलो माया भेट्न सरासर एयर्पोर्ट तिर । उसको ओठमा, मलाई एक्कासी बिना कुनै खबर, एयर्पोर्ट्मा देखेपछी खुसीको सुन्दर मुस्कान आओस् भनेर पनि मैले उसलाई फोन पनि नगरी एयरपोर्ट पुगेँ।
अचम्म !
एयरपोर्ट पहिलेभन्दा निकै भिडभाडमयी थियो ।
मानिसहरुको ओठमा कुनै हाँसो देखिइरहेको थिएन । पुरै शान्त मुडमा थिए सबजना ।
के रहेछ त ? भनेर बुझ्न अलि नजिक पुगें म ।
नजिक पुग्दा पो थाहा पाएँ, भर्खरै एउटा प्लेन दुर्घटनामा परेछ र त्यहाँ रोएर बस्नेहरुका आफन्तजन चै उक्त हवाई दुर्घटनामा मरेका रहेछन् । मलाई निकै पीडा भयो । मलाई सम्हालिनै गाह्रो भयो ।
र त्यतिकैमा एउटा थप जानकारी पनि पाइयो कि भर्खरै दुर्घटनामा परेको प्लेन लुक्लाबाट काठमाडौ आउदै गरेको रैछ ।
म झनै छांगाबाट खसे झै भए ।
मेरो शरीर नै मबाट चुडिएर कहि अन्यत्रै खसे जस्तो लाग्यो । चिटचिट पसिना बग्न थाले । संसार पुरै घुमिरह्यो ।
प्लेन दुर्घटनामा उसले पनि आफ्नो ज्यान गुमाएँछ ।
म बेहोसिएँ, म भक्कानिँए, म बौलाँए ।
म त्यहिँ लडेँ, आकाश हेर्दै टोलाएँ ।
उसले प्लान गरेको फेब्रुअरी १४ मेरो जिन्दगीमा फेरि कहिल्यै नआउने भयो । सबका सब सपनाहरु चक्नाचुर भएर गए ।
म भावविह्वल भए ।
मन त अझ तब भक्कानियो, जब भग्नावशेष प्लेनका टुक्राबाट उसको कालो झोला भेटियो, र भेटियो त्यसभित्र एकदमै सजाएर राखेको रातो ‘लालिगुराँसको फूल’ ।
०००
०००