सुदर्शन कार्की, सल्लेरी-खबर ।
फुलै फुल मात्र पनि होइन रैछ जीवन,
काँडा बिच फुल्ने फुल रैछ जीवन।
मधु क्षेत्रीको यो सदाबहार गीत आज नेकपाका अध्यक्ष देशका प्रधानमन्त्री के. पि ओलीले सुने भने पक्कै एकपटक मनन गर्नेछन् र सम्झनेछन् ” साँच्चै फुलैफुल मात्र होइन रहेछ जीवन, सत्ता,काँडाबिच फुल्ने फुल रहेछ सत्ता, मोरो एउटा गोविन्द केसीले हल्लाइदियो देश, काँडा नै रहेछ नि” यसो भन्दै पिउँदा हुन ६०,००० को चिसो पानी, दिमाग ठन्डा पार्न भन्ने उनको सत्ताको रवैयाले सहजै सोच्न सकिन्छ।
प्रधानमन्त्री ओली दोस्रोपटक सत्ताको प्रमुख केन्द्रमा वा भनौ देशको कार्यकारी कुर्सीमा आसीन छन्। पहिलो पटक विदेशी काँडाले घोच्न खोज्दा सारा नेपाली उनलाई काँडाले नघोचोस भनेर आफ्नो छाती खोली विदेशी काडाहरु सँग पौठाबाजी गर्न तम्सिय, नेपालीहरूको अदम्य साहसको अगाडि विदेशी काँडाको केही सीप लागेन, नाकाबन्दी फिर्ता भयो, बजारभरि साहसी प्रधानमन्त्री विदेशी प्रभुको अगाडी झुकेनन् शक्तिशाली के पि ओली, हल्ला फैलियो। सारा नेपाली झुकेनन् तर अखबारमा प्रधानमन्त्री ओली झुकेनन् भनेर छापियो, छापिनुपर्ने थियो नेपाली झुकेनन् तर छापियो प्रधानमन्त्री झुकेनन्।
त्यही लोकप्रियताको कारण ओली दोस्रो पटक सत्ताको केन्द्रमा छन्, उनी प्रधानमन्त्री भएको केही दिनमा एउटा राष्ट्रिय पत्रिकाले पाँच दशक भित्रको महेन्द्र शाह पछाडिको शक्तिशाली शासक भनेर छाप्न भ्यायो। ओलीले बाँडेका सपनाहरू वास्तवमा मिठा छन्, देख्न लायक छन् तर यो बाटोबाट ती सपनाहरू पूरा गर्न सकिँदैन, यदि पूरा भइहाल्यो भनेपनि त्यसपछाडि ठुलो मूल्य चुकाउनु पर्दछ, जुन समय सँगै देखिने कुरा हो।
पहिलो पटक सत्तामा रहँदा प्रधानमन्त्री ओली जति लोकप्रिय थिए,त्यति नै लोकप्रिय आज छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात् ओरालो लाग्न थालेको उनको लोकप्रियता अहिले गोविन्द के.सी. सम्म आइपुग्दा तीव्र रूपमा स्खलित हुँदैछ। झन् सरकारले गोविन्द के.सी.लाई जुम्लाबाट काठमाडौँ ल्याउने बेला गरिएको अस्पतालको स्थितिलाई हेर्दा सरकार मानवियता बिर्सिएर नरसंहार गर्न नि तत्पर छ भन्ने देखियो साथै उनको सार्वजनिक अभिव्यक्तिले ” सरकार एउटा व्यक्तिले भन्दैमा झुक्दैन” स्पष्ट पारेको छ। एउटा कुरा सम्झिन चाहन्छु, तत्कालीन मा. के (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसको संयुक्त सरकार हुँदा सडकबाट ओलीले भनेका थिए ” फल भएको वृक्ष झुक्छ, काङ्ग्रेस र मा.के फल नदिने चिलाउनेको रुख हो, जुन झुक्दैन र काम लाग्दैन पनि। एमाले फल भएको बिरुवा हो त्यसकारण यो सरकारलाई चुपचाप सहयोग गर्दैछ। ” आज त्यही फल दिने बिरुवा सरकारमा हुँदा फल दिने कि लिने? यो उनीहरूलाई नैतिक प्रश्न हो।
रामेछाप जिल्लामा जन्मिएका डा. गोविन्द के.सी. बंगलादेश बाट एमबिबिएस गरेका डाक्टर हुन। उनले स्वास्थ्य क्षेत्रको व्यथीतीलाई अन्त्य गर्न माग गर्दै अनसन बसेको यो १५औ पटक हो। विभिन्न वार्ताबाट माग पूरा गर्ने भन्दै सरकारले अनसन तोडे पनि आजसम्म ती वाचा पूरा गर्न नसकेकाले फेरि त्यही कुरा दोहोरिएको छ। जनताले सहज ढंगले उपचार नपाएर अकालमै कोही नमरुन, डाक्टर पढ्न सक्ने विध्यार्थीले स्वदेशमै अध्ययन गर्न पाउन भन्ने जायज मागको लागि शान्तिपूर्ण सत्याग्रहको बाटो रोजेका गोविन्दको मागलाई पूरा गर्नु त परको कुरा , वार्ताद्वारा समस्याको समाधान गर्न सहज विधि सम्म नअपनाई सरकार खरो तरिकाले उत्रिएको छ। कम्युनिष्ट पार्टीको प्रमुख सिद्धान्त भनेको स्वास्थ्य, शिक्षा हरेक नागरिकले निःशुल्क पाउनुपर्छ भन्ने हो तर यहाँ त्यसको ठिक उल्टो भएको छ। मार्सी भात नामले चिनिने दुर्गा प्रसाईं खुलमखुल्ला बहुलाएका छन्, यति सम्म कि आफ्नै छोरीचेलीलाई मानसिक बलात्कार गर्न पछि नपरेका उनी बंगलादेश पढ्ने नारीले आफ्नो शरीर बेचेर एमबिबिएस को सर्टिफिकेट ल्याउने ठोकुवा गर्दैछन। यस्तो नीच मानसिकताको उपज प्रसाईंको सम्पत्तिमा पनि भ्रष्टाचारको गन्ध आउँछ । अझ आफ्नै मन्त्रिमण्डलका एक दुई मन्त्रीले सम्म प्रसाईको कुरालाई प्रश्रय दिई दोहोर्याएका छन्। यो कतिसम्म लज्जास्पद कुरो हो? प्रधानमन्त्री ओली र को-पाइलट पि. केका आत्मीय मित्र दुर्गा प्रसाईं ‘ मार्सी चामल’ सँग एउटै डायनिङगमा खाना खाएको तस्बिरले पनि प्रसाईंले ओलीको संरक्षणले र मार्सी भातले बौलाएको जिकिर गर्न सकिन्छ।
नेपाली जनताको यो सरकारलाई अझै सहानुभूति छ, त्यसैले तत्कालै डा. गोविन्द के.सी.को मागलाई पूरा गरी जनताको पक्षमा उभिन यो सरकारलाई अनुरोध छ। साथै कानुन मन्त्री र दुर्गा प्रसाईंलाई कानुनी दायरामा ल्याई जनतालाई कानुनी राज्यको प्रत्याभूति गराउन सके ओलीको अलोकप्रियता यो पटकको लागि सायद घट्ने थियो। फुलै फुल मात्र होइन यो सत्ता, काँडा बिचमा फुल्ने फुल हो यो सत्ता, काँडाबाट जोगिँदै जोगाउँदै जिउनुमा सत्ताको आयु बढ्ने हो, नत्र सत्ता चिप्लन सक्छन्, जनताले बनाइदिए सत्ताको सिडी सम्म नपुग्दै मक्किन सक्छ, हेक्का रहोस् !