Logo

एमसिसी देशको हितमा छ, पास गरिहालाैँ : डा भट्टराई



२९ भदाै, गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेन्ज कर्परिसट (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् । गोरखा सदरमुकाममा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताए ।

“एमसीसीको विषय अहिले पेचिलोरूपमा उठेको छ”, उनले भने, “यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्नुपर्छ ।” पूर्वप्रधानमन्त्री डा भट्टराईले दलगत राजनीति र दलभित्रका पनि गुटगत राजनीतिका निम्ति राष्ट्रियताका प्रश्नलाई गिजोल्याउने काम गर्न नहुने आफ्नो मान्यता रहेको बताए ।

“एससीसी पनि विशुद्धरूपमा एउटा परियोजना अनुदान सम्झौता हो । यस्ता सम्झौता थुप्रै देशसँग हुने गरेका छन्”, उनले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको पाइएको बताए । उनले एमसीसीको विषयमा सरकारमा रहँदा एउटा र सरकार बाहिर हुँदा अर्को कुरा गर्ने नेपालका राजनीतिक दलको प्रवृतिका कारण यस्ता खालका सहमति र सम्झौतामा समस्या हुने गरेको बताए ।

“केही दल खास गरी हाम्रा पूराना कम्युनिष्ट साथीको जुन एउटा धङ्धङ्गी छ, त्यो धङधङ्गी छोड्न नसकेका कारण पार्टीको आन्तरिक सङ्घर्ष पनि प्रतिबन्धित हुन पुग्यो”, डा भट्टराइले भने । पूर्वप्रधानमन्त्री डा भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दावी गरे । उनले जसपा एक्लैले निणर्य गर्न सक्ने अवस्था नरहेको भन्दै एमसीसी राष्ट्रिय सहमतिबाट नै टुङ्गो लागोस् भन्ने पार्टीको धारणा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्