Logo

नेपाल एसियाको स्वीट्जरल्याण्ड हो : सद्गुरू



Spread the love

२० भदाै, काठमाडाैँ । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् ।

नेपालको पर्यटन प्रवर्द्धनको विषयमा नेपाल पर्यटन बोर्डले सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

एकसाता अघि नेपाल आएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका विभिन्न विषयमाथि गरेको छलफलका क्रममा उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र यही नै स्वर्ग रहेको धारणा राखेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

“नेपाल सम्भावना नै सम्भावना भएको देश हो । नेचर, कल्चर, एडभेन्चर यहाँ नभएको के छ ? आवश्यक छ त केबल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन । त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले राक्न सक्दैन”, सद्गुरुको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल विश्वका अरु देश जस्तो नभइ अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकाले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकत्ता भएको बताउँदै उनले योजनाबद्ध विकासबिना दिगो विकास सम्भव नहुने धारणा राखे ।

नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान पनि उनले सुझाव दिए । आउने दश वर्षभित्रै नेपालको पर्यटनलाई कूल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ३० प्रतिशत योगदान दिने क्षेत्रका रुपमा विकास गर्न सकिने सद्गुरुको भनाइ थियो ।

बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले कोभिडकै बीचमा सद्गुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक समानता रहेको हुँदा दुबै देशबीच सहकार्य गर्न सके पर्यटनबाट फाइदा लिनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्