Logo

धुलिखेल महोत्सव सुरु, १५० भन्दा बढी स्टल



Spread the love

धुलिखेल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको सङ्घका अध्यक्ष मञ्जुकुमार कोजूले जानकारी दिए । मेलामा काभ्रे जिल्ला, प्रदेश नम्बर ३लगायत राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योग व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिहरूको सहभागिता छ । काभ्रे महोत्सव धुलिखेल २०७४ को मुख्य आकर्षण जिल्ला स्तरिय कृषि, पर्यटन र हस्तकलाका सामाग्री छन् । मेलाका अवसरमा उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष अन्तरक्रियासमेत हुने अध्यक्ष कोजूले बताए ।
स्थानीय तहमा आर्थिक गतिविधिमा जनताको प्रत्यक्ष सहभागिता र अर्थतन्त्रको मूल प्रवाहमा स्थानीय जनतालाई समाहित गरी उनीहरूको जीवनस्तर सुधार गर्ने अभियान स्वरूप धुलिखेल उद्योग वाणिज्य सङ्घले महोत्सव गर्दै आएको अध्यक्ष कोजूले बताए ।
धुलिखेल उद्योग वाणिज्य सङ्घले २०६६ सालमा पहिलो महोत्सव आयोजना गरेको थियो । यसलाई निरन्तरता दिँदै सङ्घले २०७२ र २०७३ सालमा खाना महोत्सव आयोजना गरेको थियो ।

कृषि, पर्यटन, काभ्रे जिल्लाको औद्योगिक र व्यापारिक तथा व्यापार क्षेत्रमा व्यवस्थित वजारीकरण र आधुनिकीकरण गर्न एकै थलोमा उत्पादक, उत्पादन, उपभोक्ता, कृषि उपज विक्रेताहरु, सेवाहरू, व्यापारीहरू, घरेलु तथा साना उद्योगीहरू र सरोकारवालाहरुसँग सिधै सम्पर्क गर्न अहिले आयोजना भइरहेको महोत्सव महत्त्वपूर्ण रहने अध्यक्ष कोजूको दाबी छ । काभे्रको मात्र नभएर काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका छिमेकी जिल्लाहरू र अन्य क्षेत्रबाट समेत १ लाख ५० हजारभन्दा बढी दर्शकहरूले महोत्सव अवलोकन गर्ने धुलिखेल उद्योग वाणिज्य सङ्घले विश्वास लिएको छ ।

महोत्सवलाई आकर्षक बनाउन चित्रकला प्रदर्शनी, विज्ञहरूसँगको अन्तरक्रिया र काभ्रे जिल्लाको विभिन्न गतिविधि (इतिहास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कला संस्कृति, जीवनशैली आदि) झल्कने फोटो प्रदर्शनी पनि गरिने छ । महोत्सवमा विभिन्न खेलको प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय सांस्कृतिक तथा अन्य प्रतियोगिता, खाना पकाउने प्रतियोगिताहरूको साथै साइकल ¥याली, स्थानीय सांस्कृतिक झाँकी प्रदर्शनी भइरहेको छ । महोत्सवमा करिब ५ करोडको कारोबार हुने सङ्घको अनुमान छ ।

धुलिखेल उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा भएको महोत्सवको जिल्ला समन्वय समिति काभ्रे, धुलिखेल नगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, काभ्रे उद्योग वाणिज्य सङ्घ, क्षेत्रीय होटेल सङ्घ काभ्रे आयोजक छन् । त्यस्तै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्र, जिल्ला कृषि विकास कार्यालय काभ्रे, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय काभ्रे, जिल्ला पशुसेवा कार्यालय काभ्रे, धुलिखेल समाज काठमाडौँ, साफ एसोसिएसन काभ्रे, वनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोवुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, पनौती उद्योग वाणिज्य सङ्घ, नमोवुद्ध उद्योग वाणिज्य सङ्घ र पाँचखाल उद्योग वाणिज्य सङ्घ सहआयोजक छन् ।

प्रतिक्रिया दिनुहोस्