Logo

बजार पसेर तीन जनालाई घाइते बनाएको भालुलाई प्रहरीले गोली हानी मार्‍यो



Spread the love

२९ साउन, कर्णाली । सदरमुकाम जुम्ला खलंगा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ ।
चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उनको श्रीमती २६ वर्षीया निर्मलालाई बिहीबार बिहान ५ः३० बजेतिर भालुले आक्रमण गरी घाइते बनाएको थियो ।

श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउनेबित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताइन् ।

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

भालुले स्थानीयमाथि आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजी कार्यमा लागेको थियो ।

भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतंकले बिहीबार जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो। चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो। भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभिजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थिए ।

बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण गर्न खोजेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्