Logo

छिमेकीको बगैंचामा ५ वर्षीय बालकको शव भेटियो, बाबु र सौतेनी आमा पक्राउ



Spread the love

१५ साउन, महोत्तरी । महोत्तरीमा बुधबारबाट हराइरहेका एक बालकको शव छिमेकीको बैगैँचामा फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ का चन्द्रकिशोर यादवका पाँच वर्षीय छोरा रितेशको शव छिमेकीको बगैँचामा भेटिइएको हो ।

बुधबार साँझदेखि हराएका बालकको चारैतिर खोजतलास गरिए पनि रातिसम्म उनलाई भेट्टाउन सकिएको थिएन । बिहीबार बिहान घरभन्दा ५० मिटर पश्चिम हीरा साहको फूलबारीको केराको बोट नजिक रितेशको शव परालले छोपिएको अवस्थामा फेला पारिएको हो । कुहिएकेको अवस्थाको उनको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहीबार उनको शव भेटिएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बालकको शव भेटिएपछि प्रहरीले उनका बाबु र सौतेनी आमालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । यी बालककी आमा केहीअघि घरबाट भागेपछि उनका बाबुले दोस्रो विवाह गरेका थिए ।

स्थानीयहरुले प्रहरीलाई जनाएअनुसार बुधबार सौतेनी आमासँग यी बालक बाहिर घुम्न निस्किएका थिए । तर, अबेरसम्म उनी नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्