Logo

जसपा विवाद : उपेन्द्र यादवको पक्षमा बहुमत, कति जनाले कसको पक्षमा गरे हस्ताक्षर ?



Spread the love

११ साउन, काठमाडाैँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका छन् ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ ।

जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताए । उनका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ । जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ । यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन ।

आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्