Logo

हेलम्बु, पाँचपोखरी र मेलम्चीका बाढी प्रभावितलाई सहयोग



Spread the love

१० साउन, सिन्धुपाल्चोक । हेलम्बु र मेलम्चीका बाढी प्रभावितलाई राहत वितरण गरिएको छ । हेलम्बुका १२२ घरधुरी र बाढीबाट मृत्यु तथा बेपत्ता भएका १४ परिवारलाई राहत वितरण गरिएको हो । त्यस्तै आज नै मेलम्ची बजार पुनःनिर्माण सरोकार समिति, रेडियो मेलम्ची र नमूना बङ्गुर फार्मलाई रु पाँच लाख ५६ हजार ९७५ रकम हस्तान्तरण गरिएको छ ।

इराकबाट नोर्की शेर्पा, हङ्कङबाट माया आङबुहाङ, स्मार्ट टिमका राम अधिकारी र उषा तामाङ, मलेशियाबाट बुद्ध लामा योञ्जन, नागरिक आवाजकी मेरी राई तामाङ, जुहारी कलाकार सङ्घ भोटेकोशी–१ का अध्यक्ष मुके शेर्पा र कतारबाट सोम तामाङको पहलमा सङ्कलन भएको रकम आज हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि एवं अभियानकर्मी कृष्ण तामाङले जानकारी दिए ।

हेलम्बुमा १४ मृतक र बेपत्ता परिवारलाइ रु १० हजारका दरले र अन्य प्रभावितलाई रु तीन हजार ५०० का दरले राहत वितरण गरिएको तामाङले बताउनुभयो । त्यस्तै रेडियो मेलम्ची र मेलम्ची बजार पुनःनिर्माण सरोकार समितिलाई रु १५/१५ हजार र नमूना बङ्गुर फार्मलाई रु आठ हजार प्रदान गरिएको तामाङले बताए ।

पाँच लाख ८० हजार नगद

याङ्ग्री र सुनचौर बरुवाका बाढी प्रभावितलाई रु पाँच लाख ८० हजार नगद राहत वितरण गरिएको छ । पाँचपोखरी थाङपाल–२ घर भई हाल अमेरिका रहनुहुने सुरेन्द्र तामाङ र बुद्धिमान तामाङको समन्वयमा सङ्कलन गरिएको सो रकम शुक्रबार ११० घर विस्थापितमध्ये ३२ घरपरिवारलाई वितरण गरिएको हो ।

सात घरलाई रु २५ हजार, छ घरलाई रु २० हजार र बाँकीलाई रु १५ हजारका दरले रकम वितरण गरिएको वडाध्यक्ष पासाङ स्याङबाले जानकारी दिए । साथै १३२ जनालाई कोभिडविरुद्धको भेरोसेल खोप दिइएको पनि स्याङबाले जानकारी दिए ।

प्रभावितलाई खाद्यान्न

मेलम्ची बाढी प्रभावितलाई नेपाल सेफ सोसाइटी युएईले खाद्यान्न सहयोग गरेको छ । आज मेलम्चीमा एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको हो । मेलम्ची क्षेत्रका बाढी प्रभावित २० घरलाई चामल एक बोरा, तेल दुई लिटर, दुई किलो नुन, दुई किलो चिनीलगायत खाद्यान्न सहयोग गरिएको नेपाल सेफ सोसाइटीका विशेष सल्लाहकार वसन्त राईले जानकारी दिए ।

मेलम्चीका समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता सागर श्रेष्ठमार्फत मेलम्चीपारिका प्रभावितलाई सामग्री हस्तान्तरण गरिएको हो । युएई बस्ने नेपाली सेफहरूले सङ्कलन गरेको रकमले प्रभावितलाई केही राहत होस् भनेर सो सामग्री वितरण गरेको राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्