Logo

प्रधानमन्त्री देउवाले सुरू गरे एकै डोज लगाउँदा हुने खोप अभियान



Spread the love

४ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन् ।

उनले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार केन्द्रमा अपाङ्गता भएका १८ वर्षभन्दा माथिका क र ख वर्गको परिचयपत्र हुनेलाई खोप लगाइने छ । कोही छुटेमा नगरपालिकाले सञ्चालन गरेको वडा नं ५ चामुण्डा माध्यमिक विद्यालय र वडा नं ४ को सहयोगी माध्यमिक विद्यालय केन्द्रमा गई खोप लगाउन सक्ने जनाइएको छ ।

यसैगरी आजदेखि चामुण्डा र सहयोगी मावि केन्द्रमा १८ वर्ष माथिकालाई खोप लगाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । खोप कार्यक्रमलाई भौतिक दूरी कायम गरी सुरक्षित तरिकाले सम्पन्न गर्न स्वयंसेवकसमेत परिचालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्