Logo

कस्तो भयो ओली-नेपालको वार्ता ?, कसले के भने ?



Spread the love

२४ असार, काठमाडौँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ ।

नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । तयसपछि उनीहरुबीच अलग–अलग वार्ता भएको थियो ।

वार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपालसमक्ष विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए । तर उनले जेठ २ को विषयमा कुनै कुरा ननिस्किएपछि नेता नेपाल सहमत नभएको बताइएको छ ।

‘छलफलमा नेता नेपालसँग ओलीलेभने, तपाईहरु विपक्षी गठबन्धनमा लाग्नुभयो । त्यसलाई छोड्नुपर्छ । विपक्षी गठबन्धनले मलाई अफ्ठेरोमा पारिरहेको छ । त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस् । म अफ्ठ्यारोमा छु’,।

जवाफमा नेपालले भने, ‘पार्टी मिलाएर अगाडि बढ्नुपर्छ । अहिलेका जति पनि राष्ट्रिय समस्याहरू छन् ती सबै समस्याको मिलेर समाधान गर्नुपर्छ । अरूलाई दोष दिएर मात्र हुन्न । त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ’, ।

भेटमा ओलीले जेठ २ को वरिपरि कसरी जाने भन्ने विषयमा कुरा गर्न नचाहेको बताइएको छ ।

वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीररुपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताए । वार्तास्थलमा रावलका साथै एमालेका महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका थिए ।

शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो ।सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिन अघि कार्यदलको बैठक पुनः शुरु भएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघठन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा सम्लग्न पार्टीका २३ निवर्तमान सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट डा. रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्