Logo

भारतमा २० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु



Spread the love

२० बैशाख, काठमाडाैँ । गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाअनुसार गत साता भारतमा २०, कुवेतमा दुई र कतारमा एक नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य तथा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका छन् । यससँगै हालसम्म विश्वका २१ मुलुकमा संक्रमणका कारण ३७२ नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपाली ६८ हजार ५०६ जना पुगेका छन् । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात् ६४ हजार ७४४ संक्रमणमुक्त भएका छन् । गत साता भारत, कुवेत, कतार, युएई, रोमानिया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक र पोल्याण्डमा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको कोभिड १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यसैबीच नेपालमा हालसम्म दुई लाख ९७ हजार ८७ संक्रमित पुगेकामा ९३ दशमलव ३ प्रतिशत अर्थात् दुई लाख ७७ हजार १२३ संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिबार सांँझसम्म तीन हजार १३६ जनाको निधन भएको छ । पछिल्लो एक वर्षमा सबैभन्दा बढी मेमा ६८, सेप्टेम्बरमा ६५ र अगष्टमा ३६ नेपालीको निधन भएको थियो । यो वर्ष शुरु भएपछि भने यही अप्रिलमा २३ नेपालीको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । गत वर्ष जुन, जुलाई, डिसेम्बर र यस वर्ष जनवरीमा सबैभन्दा धेरै नेपाली कोरोना संक्रमणबाट मुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्