Logo

प्रधानमन्त्री पत्नीलाई किन दिइएन पैसा ?



Spread the love

१७ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यलाई नेपाल राष्ट्र बैंकले तत्काल दिनुपर्ने भुक्तानी चार दिनसम्म रोकेर दिनुसम्म दुःख दिएको वास्तविकता बाहिर आएको छ । उहाँको झण्डै ३७ लाख रुपैयाँ चार दिनसम्म रोकिँदा दुई हजार रुपैयाँ ब्याज घाटा लागेको छ ।

चैत ३० गते बिहान साढे १० बजे शाक्य २०७२ साल चैत २८ गते किनेको ५ वर्षे राष्ट्रिय बचतपत्रको साँवा र ब्याज लिन राष्ट्र बैंक, बालुवाटार जानुभएको थियो । बैंकिङ्ग कार्यालयको झ्यालमा नगद लिने निस्सा बुझाएपछि कर्मचारीले उक्त रकम सम्बन्धित विभागले नपठाएको भन्दै फर्काइदिएका थिए ।

बचतपत्र राष्ट्र ऋण व्यवस्थापन विभागले जारी गर्छ भने बैंकिङ्ग कार्यालयले सम्बन्धित व्यक्तिलाई ब्याज र रकम भुक्तानी दिन्छ । बचतपत्रको हिसाब मेचुरिटी डेटमा नै भुक्तानी दिनको लागि राष्ट्र ऋणले बैंकिगलाई रकम पठाउनुपर्ने नियम छ । तर, त्यो दिन राष्ट्र ऋणले समयमा हिसाब र पैसा नपठाएको कारण शाक्यलाई तनाव भएको हो ।

प्रधानमन्त्री पत्नीलाई बैंकले रकम भुक्तानी नगरेको खबर बाहिरिएपछि गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना हस्याङफस्याङ गर्दै वास्तविकता बुझ्नतिर लागेका थिए । राष्ट्र ऋण विभागको लापरबाहीका कारण त्यो दिन शाक्यलगायत झण्डै सात सय जना सर्वसाधारणको भुक्तानी रोकिएको थियो ।

उक्त विभाग डेपुटी हुनुअघि उनै ढुंगानाले चलाएकी थिइन् । अहिले भने विभागीय प्रमुखमा नरेश शाक्य छन् । उनले गत फागुनमा डेपुटीको नियुक्तिअघि भएको दौडमा आफूलाई प्रधानमन्त्रीको सालो भनेर एकाध ठाउँमा प्रचारसमेत गराएको चर्चा छ ।

गभर्नर अधिकारी डेपुटी हुँदा बैंकले खरिद गरेको जीएल सफ्टवेयरमा समस्या आएको कारण राधिकालगायतको २८ गते नै मेचुअर्ड भएको रकम प्रदान गर्न नसकिएको स्रोतको दाबी छ । त्यो दिन शनिबार र भोलिपल्ट घोडेजात्राको बिदाका कारण सोमबार कार्यालय खुलेपछि ब्याक डेटमा पोष्टिङ गर्न खोज्दा समस्या आएको बालुवाटार स्रोतले बताएको छ ।

बैंकका एकजना आईटी विज्ञ भन्छन्, ‘जीएलले ब्याक डेटमा पोष्टिङ सपोर्ट गर्दैन । त्यो कुरा सबैलाई थाहा छ । अझ त्यसमा पनि जीएलका विज्ञ भनिने कर्मचारीलाई नै राष्ट्र ऋण विभागमा राखिएको छ । त्यसैले २८ गते नै उक्त विभागका कर्मचारीले कार्यालयमा आएर हिसाब मिलाउनुपथ्र्यो । त्यो काम अहिले डेपुटी नियुक्त म्याडमको पालामा समेत गरिएको थिएन । अहिलेका हाकिम शाक्यलाई त झन् त्यो कुरोको मेसो नै छैन ।’

शाक्यले गत वर्ष बैंकिङ्ग कार्यालयको चिसो ढुकुटीमा लामो समयसम्म राखेको कारण लाखौं विदेशी मुद्रामा ढुसी लागेर करोडौं रुपैयाँ खोटो भएको थियो । त्यसैगरी,बेलैमा सिंगापुर लगेर जम्मा नगरेको कारण राज्य कोषमा १० करोड रुपैयाँ भन्दाबढी चुना लागेको थियो ।

आईटी विज्ञले जनआस्थासँग भने, ‘चैत ३० गते सोमबार बिहान प्रधानमन्त्री पत्नीले रकम नपाएको खबर गभर्नरसम्म पुगेपछि मात्र राष्ट्र ऋणले सात सय जनाभन्दा बढीको हिसाब म्यानुअल्ली पोष्टिङ गरेर बैंकिङमा पठाएको थियो । त्यतिबेला दिउँसोको खाजा खाने समय भइसकेको थियो । अनि राधिका पनि राष्ट्र बैंकको कम्पाउण्डबाट सँगै प्रधानमन्त्री निवास पुगिसक्नुभएको थियो ।’

यसपटक शाक्य आफ्नो नाममा पाँच वर्षअघि किनिएको २५ लाख र आफूले अख्तियारी लिएको १० लाख गरी ३५ लाख रुपैयाँको बचतपत्रको रकम र पछिल्लो छ महिनाको ब्याज लिन जानुभएको हो । चार दिनअघि नपाएपछि बैशाख २ गते उहाँले बचतपत्रको ३५ लाख र ९ प्रतिशत ब्याजदरमा पछिल्लो छ महिनाको १ लाख ४८ हजार ५० रुपैयाँ गरी ३६ लाख ४८ हजार ५० रुपैयाँ बुझ्नुभएको छ । उहाँको ब्याज आम्दानीमा बैंकले ६ प्रतिशत करवापत ९ हजार ४ सय ५० रुपैयाँ कट्टा गरेको छ ।

डेढ वर्षअघि पनि उनै शाक्यले त्यहि बचतपत्रको ब्याज लिन जाँदा जीएल सफ्टवेयरमा समस्या आएको भन्दै दिनभरि भुक्तानी पाउनुभएन । त्यतिबेला नरेश शाक्य बैंकिङको हाकिम र अहिलेकी डेपुटी तिम्सिना राष्ट्र ऋण विभागको प्रमुख थिए। भुक्तानी नपाएपछि उहाँले त्यतिबेला तीन तलामाथि तत्कालीन डेपुटी चिन्तामणि सिवाकोटीको कोठैमा गएर गुनासो पोख्नुभएको थियो । राष्ट्र बैंकको भूतपूर्व कर्मचारी राधिका स्वयम लामो समयसम्म त्यहि राष्ट्र ऋण व्यवस्थापन विभागमा कार्यरत हुनुहुन्थ्यो ।

सरकार प्रमुखकी पत्नीलाई त आफ्नो मेहनतको कमाइ बेलैमा फिर्ता पाउन मुश्किल पर्ने यो देशमा सर्वसाधारणको हालतचाहिँ के होला ? यो समाचार जनआस्थामा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्