Logo

३ जना युरोपेली पत्रकारको हत्या



Spread the love

१५ बैशाख, काठमाडाैँ । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् ।

हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एक जना आइरिस पत्रकार रहेका छन् । बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण भएको थियो ।

बुर्किना फासोका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी तीन जना पत्रकारको हत्या भएको र एक जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन् ।

फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु छ जना घाइते भएका छन् । बुर्किना फासोका एक जना वरिष्ट सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरुको हत्या गरेको पुष्टि गरे । ती पत्रकारहरु रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए ।

यद्यपी ती अधिकारीले आक्रमणकारी कुन समूहसँग आबद्ध थिए भन्ने केही बताएका छैनन् । सुरक्षा स्रोतका अनुसार, आक्रमणकारीले दुई वटा पिकअप सवारी साधन र एक दर्जनजति मोटरसाइकल प्रयोग गरेका थिए ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो मुलुकका दुई पत्रकारको हत्या भएको पुष्टि गरे । उनले ट्वीट गर्दै हत्या गरिएका स्पेनिस पत्रकारहरुमा डेभिड बेरियान र रोबर्टो फ्राइल रहेको जानकारी दिए ।

विश्वकै गरिब राष्ट्र बुर्किना फासोमा इस्लामिक अतिवादी समूहले सरकारी फौजमाथि आक्रमण गर्ने गरेका छन् । उनीहरु सन् २०१५ मा छिमेकी मुलुक मालीबाट बुर्किना फासोमा प्रवेश गरेका थिए ।

अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध समेतका जिहादी समूहहरुले बुर्किना फासोमा आक्रमणका घटना बढाउँदै लगेका छन् । करिब एघार सय व्यक्ति मारिएका छन् भने १० लाखभन्दा बढी मानिस घर छाडेर अन्यत्र पलायन भएका छन् ।

रिपोर्टर्स विदाउट बोर्डर्सका महासचिव क्रिस्टोफ डिलोएर आक्रमणको घटनाप्रति रोश प्रकट गरेका छन् । उनले शाहेल क्षेत्रमा पत्रकार निकै असुरक्षित रहेको पछिल्लो घटनाले पुष्टि गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्