Logo

संसद्लाई घेराबन्दी गर्ने प्रयास भयो : सभामुख सापकोटा !



Spread the love

५ बैशाख काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको र अहिले पनि त्यो जारी रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौँमा भएको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले भने, “संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैभरीभ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।”

उनले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गरे । मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताए । उनले भन्नेले के भन्छन् भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको जिकिर गरे ।

“मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन”, सभामुख सापकोटाले प्रष्टीकरणका साथ भने । उनले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पारे । जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताए ।

सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस् भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताए । उनले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि कुनै कुराको त्याग गर्न र जोखिम लिन कठिनाइ नहुने उनको भनाइ थियो । यसमा पत्रकारले शक्तिशाली जनमत बनाइरहेकामा पत्रकारिता क्षेत्र प्रति नै गर्व लागेको उनले सुनाए ।

राज्यको महान् बहसमा सामेल हुन सबैलाई आग्रह गर्दै सभामुख सापकोटाले बहस छेडिएपछि त्यो सही निष्कर्षमा पुग्ने र सत्यको अन्वेषण हुने बताए । उनले मुलुकसामु चुनौती खडा भएकाले त्यसलाई सामना गर्दै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । सभामुख सापकोटाले ठीक ढङ्गले काम गर्ने हो भने उत्पन्न समस्या समाधान गर्ने सन्दर्भमा कुनै कठिनाइ नहुनेसमेत बताए । हरेक भयानक सङ्कटका बीचमा महान् अवसर रहने उल्लेख गर्दै उनले सङ्कट आउँदैमा चिन्तित हुनुपर्दैन भने ।

“पहिलेपहिले समुद्र मन्थन भनिन्थ्यो अहिले, महान् बहसको बीचबाट अघि बढेका छौँ, कहिलेकाहीँ शून्य–शून्य जस्तो अन्योल र अलिकति राजनीतिक शून्यताको स्थिति देखिएको छ नी, त्यो बाहिरको आवरणमा मात्रै हो, भित्रभित्रै बहसमा छ, निस्किएर प्रष्फुटन हुन्छ”, सभामुख सापकोटाले भने ।

उनले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सङ्कल्पका साथ अघि बढेकाले गुणात्मक कानून निर्माणमा कुनै सम्झौता नहुने प्रष्ट्याए । विधेयक अड्काएको आरोप खेपेका सभामुख सापकोटाले त्यसलाई सङ्केत गर्दै सार्वजनिक कानून निर्माण गर्दा एउटा शब्दावलीले जमीन–आसमानको फरक पार्ने हुँदा सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले संसद्ले आफूले बनाएको कानून अदालतले ठीक ढङ्गले कार्यान्वयन गरेको छ की छैन भन्ने कुरा र हरेक निकायमा हुने क्रियाकलापका विषयमा संसदीय निगरानी जारी रहने पनि उल्लेख गरे । उनले समाचारको विश्वसनीयता, वस्तुनिष्ठता र तथ्यपरकताका लागि कठोर मेहनतका साथ लाग्न पत्रकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्