Logo

मेयरले नै जीते ‘मेयर साइकल दौड’को उपाधि



Spread the love

२ बैशाख, पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा नयाँ वर्ष– २०७८ को अवसरमा आज पोखरामा सम्पन्न ‘मेयर साइकल दौड’ प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलीपविक्रम खाँडले प्रथम स्थान हासिल गरेका छन् ।

पोखराको पर्यटकीय क्षेत्र हल्लनचोकबाट शुरु भएको चार किमी निर्धारित दौडको दूरी १५ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै खाँडले उपाधिसहित १० तोला चाँदीको पदक जित्न सफल भए ।

यसैगरी हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले निर्धारित दूरी १५ मिनेट ८८ सेकेण्डमा पार गरी द्धितीय र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरी तृतीय बन्न सफल भए ।

द्धितीय र तृतीयले क्रमशः आठ र सात तोला चाँदीको पदक पुरस्कार स्वरुप प्राप्त गर्नुभएको थियो । विजयी खेलाडीलाई महानगर प्रमुख मानबहादुर जिसीले पुरस्कार प्रदान गरेका थिए । हल्लनचोकबाट शुरु भएको दौड बाराही चोक–राष्ट्र बैंक–सिर्जना चोक–सभागृह चोक हुँदै सभागृह हल परिसरमा पुगेर समापन गरिएको थियो ।

बढ्दो सवारी साधनको चापले निम्त्याउने प्रदूषण न्यूनीकरणका लागि साइकल चढ्न अभिप्रेरित गर्ने उद्देश्यले महानगरले स्थानीय तहका प्रमुखलाई आमन्त्रण गरेर सो दौड प्रतियोगिता आयोजना गरिएको प्रमुख जिसीले बताए ।

पोखरामा तालदेखि ताल जोड्ने गरी ८४ किलोमिटर साइकल ट्याक निर्माणको योजनाअनुसार आवश्यक पूर्वाधार निर्माण गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको उनले जानकारी दिए । महानगरले जिल्ला साइक्लिङ सङ्घ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घसँगको सहकार्यमा ‘वातावरण जोगाऔँ, स्वस्थ रहौँ’को नारासहित आयोजना गरेको दौडमा नौ जनाले सहभागिता जनाएका थिए ।

महानगरले दौडको अवसरमा गत वर्र्ष नेपालमा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा साइक्लिङ प्रतिस्पर्धा (डाउनहिल)तर्र्फ रजत पदक विजेता पोेखरेली खेलाडी जमूना थापालाई नगद रु एक लाखसहित सम्मान गरिएको साइकल दौडका संयोजक एवं वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्