Logo

पाइलट पाइलटबीच आकाशमै झडप



Spread the love

२८ चैत, काठमाडाैँ । नयाँ जहाज, दक्ष पाइलट र आकर्षक गन्तव्य खोज्दै आक्रामक बजार प्रवर्धनमा जान खोजिरहेको नेपाल वायुसेवा निगमभित्र झाँगिएको पाइलटहरूकाे गुटबन्दीले उडानमा समेत जोखिम बढेको छ । हालै कतार एअरवेज छाडेर निगमको सेवा गर्न आएका एकजना नेपाली पाइलटलाई आफ्नै सहकर्मीहरूले दुव्र्यवहार गरेका छन् ।

निगम स्रोतका अनुसार एअरबसको वाइडबडी विमान उडाउने प्रयोजनको लागि विश्वका विभिन्न एअरलाइन्समा संलग्न नेपाली पाइलटलाई प्राथमिकता दिने नीतिसँगै कतार एअरवेजमा कार्यरत क्याप्टेन उत्सवजी जंग साह उताको जागिर हापेर आएका थिए । तर, लाखौंको तलब र सुविधा छाडेर मुलुककै सेवा गर्न आएका उनलाई पहिलो गाँसमै ढुङ्गो लागेको छ । ढुंगो पनि अरुले नभई आफूसँगै दुई दशकअघि निगममा कार्यरत सहकर्मीले लगाएका हुन् ।

पाइलटले नयाँ कम्पनीमा सेवा प्रवेश गरेपछि प्रदर्शन गर्नुपर्ने क्षमता जाँच उडान (सुपर नुमेरिक फ्लाइट) को क्रममा आफ्नै सहकर्मीले ककपिटमा गरेको दुव्र्यवहारबारे निगमले छानबिन गरिरहेको छ । निगम उच्च स्रोत भन्छ– ‘त्यस दिनको घटनालाई हामीले सीसीटीभी फुटेज हेरेर विश्लेषण गरिरहेका छौं ।’ दुव्र्यवहारको कारण निगमले सुपर नुमेरिक फ्लाइट नै सञ्चालन गर्न नसकेपछि भाँडभैलो बाहिर आएको हो ।

विदेशी कम्पनीमा रहेका क्षमतावान पाइलटलाई निगम छिर्न नदिने ग्राण्ड डिजाइनमा उक्त खेल भएको एकथरिको बुझाई छ । ‘वर्षौंदेखि रजाईं गर्दै आएका केही रैथाने पाइलटले आफूले आफैँलाई उच्च मूल्याङ्कन गर्दै नयाँ पाइलटहरूमाथि सिण्डिकेट लगाउने कोशिस गरेका हुन्, ’ नाम नबताउने शर्तमा एक जना उच्च अधिकारीले जनआस्थालाई बताए । उनले भने, ‘यो गाईजात्रा वाइडबडी उडाउने केही क्याप्टेनले देखाएका हुन् ।’

सुपर न्युमेरिक फ्लाइटमा निगमका एक जना पुराना पाइलटले आफूलाई क्याप्टेन साहले ‘सर’ को सट्टा ‘क्याप्टेन’ शब्दले संबोधन गरेको निहुँमा उनीहरूको गुटबन्दी ककपिट र उडानभन्दा बाहिर आएर छताछुल्ल भएको हो । अन्तर्राष्ट्रिय नियमानुसार एउटा पाइलटद्वारा अर्कोलाई कहिल्यै पनि ‘सर’ शब्दले संबोधन गरिँदैन । त्यसमा पनि ककपिटमा बस्दा त्यो शब्द उच्चारण नै गर्न नहुने बताइन्छ । त्यसबेला एकले अर्कोलाई आफ्नो पेशाको ‘क्याप्टेन’ शब्दले नै संबोधन गर्नुपर्ने हुन्छ । उडानमा रहेका अन्य कर्मचारी ‘क्रु मेम्बर’ को हकमा पनि ‘सर’ वा ‘म्याडम’ को सट्टा उनीहरूको तोकिएको पदले संबोधन गर्ने आइकाओको मान्यता रहेको साहलाई उद्धृत गर्दै एक जना पाइलटले बताएका छन् । आइकाओ हवाई उडानको अन्तर्राष्ट्रिय नियमनकारी निकाय हो ।

साहले घटनालगत्तै चैत ८ गते निगमको ह्युमन रिसोर्सेज डिपार्टमेण्टका डाइरेक्टरलाई संबोधन गर्दै सोही दिनदेखि लागू हुने गरी राजीनामा दिएका छन् । उनले निगम नेतृत्वलाई व्यंग्य गर्दै लेखेका छन्, ‘मैले जतिन्जेल निगमको सेवा गरेँ सोचेजति उत्पादकत्व (काम) दिन सकिन कि !’ निगमले पनि साहको राजीनामा स्वीकृत नगरी चैत १२ गते लेखेको पत्रमा आफ्नो राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेको छ । अपरेसन्स विभागको पत्रमा भनिएको छ ‘तपाईंले तत्काल राजीनामा गर्दा निगमको नियमित उडान सञ्चालन गर्न समस्या पर्ने हुनाले राजीनामामाथि पुनर्विचार गरी सञ्चालक समितिबाट स्वीकृत भएअनुसार एक वर्षको लागि सेवा पु¥याई दिनुहुन अनुरोध छ ।’

निगमको व्यवस्थापनलाई आफ्नो काबुमा राख्न पाइलटहरूले उडानको क्रममा केही महिला परिचारिका (एअर होस्टेस) लाई समेत फिजिकल र मेण्टल ह्यारेस्मेण्ट गरेको भन्दै परेका केही उजुरीको बारेमा समेत छानबिन भइरहेको उच्च स्रोतले बताएको छ । उडानमा नियमानुसार खटिएका कतिपय एअर होस्टेसलाई केही पाइलटले यसअघि सकेसम्म आफ्नो उडानमा सहभागी हुन नदिने, सहभागी भए पनि उडानको क्रममा झर्किने, फन्किने गरेको भन्दै धेरैवटा उजुरी परेको छ । एउटी एअर होस्टेसलाई ‘तँ अर्को ग्रुपको पाइलटको मान्छे भएकाले आज तैँले दिएको खाना, जुस वा पानी केही पनि खाँदिन’ भनेर ती पाइलटले राम्रैसँग थर्काएका थिए । पाइलटले उनलाई उडानकै क्रममा ‘खानेकुरामा विषालु पदार्थ सेवन गराउनसक्ने’ भनेर गम्भीर आरोपसमेत लगाएका थिए ।

विमान उडिरहँदा ककपिटमा बसेका पाइलट र यात्रुसँगै रहेका अन्य कर्मचारीको उत्तिकै भूमिका रहने एक जना अवकाशप्राप्त पाइलटले बताएका छन् । तर, त्यसरी उडानको क्रममा कर्मचारीलाई धम्क्याउने पाइलटले इमर्जेन्सी परेको अवस्थामा होश गुमाए वा रिस पोखिदिए भने उनी मात्र होइन, सयौं यात्रुसँगै उडान कर्मचारीसमेत एकैछिनमा खरानी हुन बेर लाग्दैन । केही वर्षअघि मस्कोबाट जर्जियाको लागि उडेको एउटा विमानका पाइलटले एअर होस्टेस र कोपाइलटसँग झोँक फेर्दा दुई सयभन्दा बढी यात्रुसहित सबैको जीवन निमेषभरमा एउटा पहाडको टुप्पोमा सकिएको थियो ।

राष्ट्रिय ध्वजावाहक निगमभित्र भएको पाइलटको गुटबन्दीसँग बढेको सहकर्मी पाइलट र एअर होस्टेसहरूमाथिको दुव्र्यवहारप्रति नियामक निकाय नागरिक उड्डयन प्राधिकरण भने बेखबर रहेको बुझिएको छ । कुनैपनि वायुसेवा कम्पनीको उडान सुरक्षाको नियमन गर्ने जिम्मेवारी प्राधिकरणको हो । तर, नेपाल वायुसेवामा भइरहेको पछिल्लो छानबिनबारे उसले प्राधिकरणलाई जानकारी गराएको छैन । प्राधिकरण आफैँले पनि चासो लिएर घटनाको सत्यतथ्य पत्ता लगाउने र दोषीउपर कारबाही गरी हवाई उडानलाई थप सुरक्षित र विश्वसनीय बनाउनेतर्फ पहल नगरेको स्रोतको दाबी छ ।

यसै पनि वर्षौंदेखि युरोपेली युनियनले नेपाली विमानलाई युरोपको आकाशमाथि प्रतिबन्ध लगाइरहेको छ । जबकि निगमले त्यहि युरोपमा बनाइएको एअरबस अन्यत्र उडाइरहेको छ ।

यो समाचार जनआस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्