Logo

आउजाउमै सकिन थाल्यो उमेर र पैसा



१३ चैत, कञ्चनपुर। गौरीगंगाका नरभान साउद गत वर्ष चैतमा कोरोना कहरका बेला भारतको जागिर छोडेर स्वदेश फर्के। स्वदेशमा ९ महिना बसेपछि गत मंसिरमा उनी पुनः भारतको मुम्बईतर्फ हानिए।

मुम्बईप पुगेर भनेको समयमा जागिर नपाएका उनी केही दिन यत्तिकै भौँतारिए। अन्ततः एउटा होटेलमा काम पाए। होटेलमा काम पाएको ४ महिनापछि चैत पहिलो साता भारतको मुम्बईमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेतता अपनाइयो।

केही होटेल तथा व्यवसायीले पुनः उत्पादन तथा होटेलको समय घटाएसँगै कर्मचारीलाई पनि बिदा दिए। त्यही बिदामा परे साउद। ‘चार महिना जागिर गर्न नपाउँदै पुनः होटेलले बिदा दियो,’ धनगढीस्थित त्रिनगर भन्सार नाकामा भेटिएका उनले भने, ‘चार महिनाको तलब लिएर फेरि घर फर्केको छु।’

उनीजस्तै पुनर्वास कञ्चनपुरका लाल बोगटी पनि बिहीबार भातरको मुम्बईबाट फर्के। उनलाई पनि जागिरबाट साहुले बिदा दिएपछि स्वदेश फर्केका हुन्। ‘कोरोना बढ्यो भनेर काम बन्द भयो,’ उनले भने, ‘साहुले घर जाऊ भनेपछि चार महिनामै फर्किए।’ स्वदेशमै काम पाएको भए भारत जान रहर नभएको बताउँदै उनले भने, ‘कोरोनाका कारण पटकपटक भारत आउजाउमै उमेर र पैसा सकिन थाल्यो।’

सरकारले केही उद्यम सिकाएर स्वदेशमै रोजगारीको अवसर दिए आफूजस्ता तमामौ युवाको उमेर र पैसा जोगिने उनी बताउँछन्। ‘घरी भारत जाऊ घरी फर्क,’ पीडा सुनाउँदै उनले भने, ‘स्वदेशमै उद्यम पाइए त्यो समय र पैसा नासिने थिएन।’ उनी मात्रै हैनन् अहिले त्रिनगर भन्सार नाका भएर स्वदेश फर्कने नेपाली मजदुरको संख्या दिनानुदिन बढ्दै गएको छ। जसका कारण रोजगारीका लागि भारत पसेका बेरोजगार युवाको आउजाउमै उमेर र पैसा सकिन थालेको छ।

लकडाउनका बेला ज्यान जोगाउन नेपाल फर्केकाहरू स्वदेशमा लामो समय बस्दा रोग भन्दा भोकले मर्ने स्थिति आउन थालेपछि दसैंलगत्तै पुनः फर्केको बताउँदै सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भने, ‘अझ भारतको मुम्बईलगायतका सहरमा ‘नाइट सिफ्ट’ घटाइएपछि सो समयमा काम गर्ने कामदारहरू पुनः झोला समातेर स्वदेश फर्कन बाध्य भएका छन्।’ यसरी समयमा काम गर्न नपाउने र भारत आउजाउ गर्दैमा सुदूरपश्चिमका युवाको उमेर र पैसा सकिन थालेको उनले बताए।

अघिल्लो समयमा कोरोनाका कारण फर्केका नेपालीहरूलाई स्वदेशमै रोक्न नसक्दा पुनः फर्केकाहरूको समय र पैसा दुवै सकिएको बताउँदै इन्सेकका प्रदेश कार्यालय प्रमुख खडकराज जोशीले भने,‘रोगले भारतमै मर्नुभन्दा स्वदेशमै भोकले मर्न चाहने भन्दै त्यो बेला फर्केकाहरूलाई सरकारले उद्यम तथा रोजगारीको विकल्प दिन नसक्दा पुनः भारतै फर्के, अहिले आएर फेरि कोरोनाको ‘दोस्रो लहर’ देखिएपछि अझ स्वदेशै फर्कन थालेका छन्।’

रोजगारीका लागि आउने जाने समय, उमेर र पैसा सकिन थालेको चिन्तासँगसँगै उनीहरूलाई यहीँ केही उद्यममा अल्झाउन सरकारले पनि सक्नुपर्ने उनी बताउँछन्। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्