Logo

अमेरिकामा भएको गोलाबारीमा ६ जना एसियाली महिलाको मृत्यु



Spread the love

४ चैत, एजेन्सी । अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

जर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मृत्यु भएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मृत्यु भएका चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आक्रमणमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताए । उनले पक्राउ परेका व्यक्ति हाल प्रहरी हिरासतमा रहेको जानकारी दिएका छन् ।

प्रहरीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गिरफ्तार गरेको थियो । मृत्यु भएका सबैलाई गोली लागेको प्रहरीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घटनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् । जर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गोलीकाण्ड निकै भयानक र त्रासदीपूर्ण रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिरस्कारयुक्त घृणित अपराध अमेरिकाका लागि लज्जाको विषय रहेको भन्दै कडा शब्दमा निन्दा गरेका थिए । उनले भनेका थिए, “यो गलत छ । यो गैर–अमेरिकी कदम हो । यसलाई रोक्नै पर्छ ।”

प्रतिक्रिया दिनुहोस्