Logo

गृहमन्त्री थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता



Spread the love

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि पाकिस्तानका राजदूत सयेद हैदरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूतको रुपमा कार्यभार सम्हालेकोमा हैदरलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राजदूत हैदरकोे कार्यकालमा नेपाल पाकिस्तान बीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल र पाकिस्तानबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपाल र पाकिस्तानबीच सुरक्षा क्षेत्रमा प्रविधि, तालीम, अनुभवलगायत क्षेत्रमा सहयोग आदानप्रदान बढाउँदै लैजानुपर्ने बताए ।

नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री थापाले आगामी दिनमा त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

उनले केही समयअघि मात्रै नेपाली पर्वतारोही टोलीले पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको हिउँदमा सफल आरोहण गरेको स्मरण गर्दै सो कार्यमा पाकिस्तान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

सो अवसरमा राजदूत हैदरले नेपाल–पाकिस्तान बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउन आफूले सक्दो पहल गर्ने बताउँदै नेपालको विकास र समृद्धिमा पाकिस्तान सहकार्य गर्न तयार रहेको छ भने । उनले नेपाललाई विभिन्न क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

राजदूत हैदरले नेपालीको क्रिकेट खेलप्रतिको आकर्षणबाट आफू प्रभावित भएको भन्दै नेपालमा क्रिकेटको विकासका लागि पाकिस्तान सहयोग गर्न इच्छुक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्