Logo

प्रचण्ड–नेपाल पक्षलाई ओलीको चुनौती– ‘राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्’



Spread the love

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

 झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा आइतवार औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै उनले भने, ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

उनले दाहाल-नेपाल देउवाकहाँ पुगेर प्रधानमन्त्री स्वीकारिदिनुपर्यो भनेर बिन्ती बिसाएको ओलीले बताए। ‘प्रभु ! प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो। विभिन्न थरी नन्दीभृंगी मिलेर सरकार बनाऊँ। देशको विकास रोक्नका लागि केपी ओलीलाई हटाउनै पर्यो भनेछन्’, उनले भने, ‘तर उठेका बूढानीलकण्ठले पख्नु म विचार गर्छु भनेपछि अँध्यारो मुख लगाएर फर्किएछन्।’

ओलीले यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा पनि अविश्वासको प्रस्ताव राखेर हटाइएको स्मरण गर्दै अहिले पनि हटाउन चुनौती दिए । 

‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,’ ओलीले भने । 

प्रतिक्रिया दिनुहोस्