जहिल्यै प्रिय लागिरहे, रतन टाटाका यि शब्दमा पोखिएका बेजोड विचारहरु ।
“कति अच्चम छ है ! हामी उच्च ब्रान्डका कपडा लगाउने सौख राख्छौं । तर पाईजामामा सबैभन्दा आन्नद महशुस गर्छौं । हामी चहान्छौं, ताज या म्यारियोट जस्ता होटेलमा, सुशिक्षित वर्गका मानिससँग साँठगाँठ गर्न । तर पनि बाटोछेउका चिया पसलहरुमा आफ्ना साथीभाई, मनका मान्छेसँग गफ गर्नुको आनन्द नै वेग्लै हुन्छ । हामीलाई ठुल्ठुला कार चढ्ने र लामो यात्रामा जाने सपना पाल्छौं, तैपनि कुनै लामो बाटोमा आफ्नासँग पैदल हिड्दा मनभरीका कुरा साटिन्छन । हामीसँग ६४ जिबीको आईपडमा भरीपुर्ण गितहरु हुन्छन, तर कहिले काँहि रेडियोमा सुनिने पुरानो गितले अनुपम खुशि दिईदिन्छ ।“
***
एक पटक शंखमुल घाट छेउछाउ बस्नोस । बिहानको समयतिर । विविध दृश्यहरु देख्न पाईन्छन । भर्खरै बनेको शंखको आकृति । हुर्कदै गरेको पार्क । शिशिरको उजाड यामका हरिया भनाँउदा रुखहरु । बगिरहेको हो कि होइन जस्तो, कालो ‘बाग्मती नदि’ भन्ने चिज । त्यसैमाथी बनेको पुरानो तर बलियो पुल । पुलमाथि ओहोरदोहोर गर्ने मान्छेहरु । अझ ति भन्दा बढी वारीपारी बराबरी मात्रामा हुइकिएका बाईकहरु ।
त्यहि परिवेश तर साँझको बेला । झुसुङ्गै अध्यारो भइसकेको समय । तरपनि शहरको झिलिमिलीले कहाँ रात पर्छ र यहाँ । बिहान झै, ट्या..ट्या..प्या..प्या.. गर्दै छन ओहरेदोहरेहरु । लाईटको भरमा अझै हुईकिदै छन । नजारा गज्जबकै छ । मुनि कालो नदिमा पनि टल्किन भ्याएका झिलिमिली बत्तिहरु । परपरसम्म हेर्दा घरका झ्यालहरु पनि बलिरहेका देखिन्छन । अलि ठम्म्यारै हेर्ने हो झ्यालभित्र मान्छेहरुका गतिविधिहरु पनि मजैले देख्न पाईन्छ । त्यसबखत त्यहाँ बसिरहँदा आन्नदको अनुभुति भनिसाध्य नै छैन । पाल्नापट्टी खोला साईडको रोडमा चारपाङ्रेहरु पनि येथेष्ट मात्रामा गुडिरहेका छन । ह्रन र स्पिडले नै थाहा हुन्छ कि सबै हतारमा छन भनेर । भोक पनि लागेको होला सायद । र थकित पनि पक्कै छन । र त्यो हतारो वासस्थान तिरै हुइकिएको हुनपर्छ । या त केहि एकाध पार्टी, डिस्कोसिस्को तिर ।
एकमनले सोच्छ । आखिर यि बाईक/कारहरु किन हुइकिरहेका छन ? बिहान कहाँ जाँदै थिए ? र अहिले कता ? किन हतार छ यिनीहरुलाई ? हतारै नगरे पनि आखिर कहिँ न कहिँ त पुग्छन नि । हैन र !
म अनुमान मात्र लगाउन सक्छु, कि धेरैजसोहरु अब छिट्टै भविष्यमा केहि पाउने लालसा राखिरहेका छन । एउटा उदाहरणका रुपमा, हिड्नेहरु साईकल, साईकलहरु बाईक, बाईकहरु अझ खत्रा बाईक या कार । यस्तै केहि तथाकथित खुशीका भाडाहरु किन्ने सोचमा होलान । तर कारवालाहरु खै, के सोचिरहेका छन ? मेरो अनुमान गर्ने ल्याकतै भएन है यहाँ ।
यिनै हतारता भित्र धरैका कथाहरु लुकेका छन । कोहि नेपालमै सेटल हुने सपना पाल्दै छन । कोहि जिआरई, स्याट, टोईफेल हुदै विदेसमा आफ्नो भाग्य चम्काउने सुरमा छन । कोहि मलेसियामा आफ्नो पसिना बगाई पैसा फलाउने दाउमा छन । कोहि भने काठमाडौंमा घर बनाउने पछितिरको सपना देेख्छन होला । केहि न केहिमा सबका सब लागेका छन ।
र ढुक्क साथ भने, म पनि यिनै हतारवाला, सपना पाल्ने क्याटागोरीमै पर्छु । होलान अरु धेरै पनि, जसलाई कुनै भौतिक मोह छैन । ससम्मान भन्छु, तिनिहरुको कथाव्यथा होईन यो ।
अरु छोडौं अहिले । शहरलाई नियालौं । “बिहान काममा दौडिने, दिउसो दिनभर काम गर्ने र साँझ निवासतिर फर्कने ।” यहि नै छ बाहिरबाट देखिने शहरिया जिवन । जिन्दगीको यो भागमडौडमा के कति छुटिगए, के कति हासिल भए त्यो त समयले नै बताउला । तर साँच्चै हामी खुसीकै पछि दौडिएका छौ त ? साच्चै खुशी, सुख कुनै कुरामा लुकेको छ ? या कतै टाढाको लक्ष्यमा समाहित छ ? प्रिय पाठक यदि कसैले यि यावत भौतिक कुराबाट सन्तुष्टि/खुशि भेटिसकेको मान्छे भेट्नुभएको छ भने मलाई पनि भेटाइदिनिहोला है । बिन्ति छ ।
***
प्रायजसोलाई विगतको समय सबैभन्दा प्यारो लाग्ने गर्छ । अझ धेरैले बच्पन सम्झने गर्छन । त्यतै कतै हराउने गर्छन ।
“आहा ! त्यो बाल्यकाल, स्कुले समय, न त कुनै टेन्सन, न कुनै प्रेसर । बस खायो, हिड्यो, खेल्यो, सुत्यो । स्कुल गयो आयो । स्कुल बिदा भए त झनै रमाईलो । कति मज्जा थियो त्यो समय !”
साँच्चै सोचे जति नै रमाईलो थियो त त्यतिबेला ??? त्यतिबेला पनि त स्कुल जाने, पढ्ने, परिक्षा पास गर्ने कुरा गार्है थिए नि । हैन र ? हो, त्यति धेरै जिम्मेवारी बोध गर्ने बेला थिएन । तर अहिले सोच्ने बेला जतिको आन्नदित समय पनि पक्कै थिएन त्यो । धेरथोर गार्हासारा कुरा उतिबेला नि भैजान्थे ।
कि त धेरै मान्छेलाई स्वेरकाल्पनिक भविष्य मनपर्छ । सानो दिमागभित्र अटाएका असिमित चाहनाहरु मनपर्छ । अब यत्ति पाए भने त म केहि खोज्ने थिईन । त्यहाँ पुगे भने त लाईफ सेटल भैईहाल्थ्यो यार । र यिनै कहिले नसकिने जिजिविषा लिएर मानिसहरु गोरेटोमा, सडकमा, राजमार्गहरुमा बत्ताँलिदै गईरहेको म मेरा साना आँखाले देख्छु ।
म मेरो फगत व्यक्तिगत अनुभव सुनाउदै छु । यदि यो पढने मन लागेन भने स्किप गर्दिए हुन्छ है । मेरो कुनै आपत्ति छैन ।
“नौ दश पढ्ने समयताका यो सानो मष्तिस्कले सोच्ने गर्थ्यो । यहि एक दुई वर्ष त हो कस्सिएर पढ्ने । अहिले दाँयाबाँया केहि गर्न हुन्न ! एसएलसी राम्रो गरे पछि त जिन्दगी बनिहाल्यो नि । यहि त हो जन्दगीको फलामे ढोका । त्यसैले दिमागले मेरो मनलाई अह्राँउथ्यो ।
“भाई चुपचाप पढ् । सब कुरा छोड्दे । ससाना कुरा छोडिदे । “
र समयबिते सँगै एसएलसी पनि त्यतै कतै छुटिगयो ।
अब एसएलसीमा प्रथम श्रेणीमा पास भाको मान्छे । साईन्स त पढ्नै पर्यो । काठमाडौं त आउनै पर्यो । यति नगरे बजारको मान्छे, अरुले के सोच्लान भन्ने चिन्ता । त्यसपछि त लाग्न थाल्यो +२ मा राम्रो गरे त सब सकिहाल्यो नि । अहँ ! दायाँबायाँ गर्नुहुन्न योबेला ।
अब आयो ईन्जिनियरिंङ ईन्ट्रान्स । ईन्ट्रान्समा नै त हो सबैभन्दा मेहनत गर्नुपर्ने । पुल्चोकमा नाम निकाले पछि त लाईफ सेटल भैहाल्यो नि । त्यो क्षण नि आयो । तर अहँ सेटल भईसकेको आभाष भने मरिगए आएन । तर उल्टो फेरी पुरानो सोच नै दोहोरियो । ब्याचलर त राम्रो सँग पढ्नुपर्छ है । भलै राम्रोसँग पढिएन होला तर सोच भने आईरह्यो । र त उस्तै गरी ब्याचलर नि सकियो ।“
तर अझै जिवनप्रतिका सोचहरु भने उस्तै छन । अहिले पनि लाग्छ दायाँबायाँ गर्नुहुन्न है । यिनै दाँयाबाँया नगर्ने चक्करमा के कति गुमाए , के कति पाए खुदलाई नै थाहा छैन । सायद कुनै दिन समयले बताईदेला ।
मलाई लाग्छ, संसारमा छिटोछिटो हिडि केहि पाउने लालसा कतै न कतै धेरैमा गहिरिएर बसेको छ । जिन्दगीमा सकारात्मक परिवर्तन त राम्रै हो । जिवनशैलीमा अपग्रेड हुनु त राम्रै हो । अगाडि बढ्नु पनि झनै राम्रो हो । तर कतै हामी सुन्दर भए पनि अनिश्चित भविष्यको पछि लागिरहनुले, गज्जवको वर्तमान त बिर्सिरहेका छैनौं । आफ्नाहरु सँगको सम्बन्ध, साथीभाईसँगको नाता, वरिपरिका चिजबिजहरु जो हामी सँग सदैव छन । कतै यिनिहरुलाई नजरअन्दाज त गरेका छैनौ ? यदि सम्बन्धहरुको महत्व हुदैन्थ्यो भने गुल्जार त्यसै किन गुनगुनाउथे यि लाईनहरुः
“पानी से तस्वीर कहा बन्ती है,
ख्वाबों से तकदीर कहा बन्ती है ।
किशी भी रिश्तेको सच्चे दिल से निभाओ,
ये जिन्दगी फिर वापस कहा मिल्ती है ।”
अन्तराष्ट्रिय पल्याटफर्मको रुपमा परिचित टेड टकको कुनै एपिसोडबाट म भन्दै छु । वर्षौंको रिसर्चबाट यो कुरा पत्ता लागिसकेको छ कि,”जो मान्छेहरु आफ्ना वरिपरिका सँग गुणिला सम्बन्धहरु राख्छन । तिनीहरु नै सबैभन्दा खुशी देखिएका छन, जसको असर उनिहरुको काममा, लामो आयुमा पर्न गएको, पाईएको छ ।
मलाई समयको सबैभन्दा सुन्दर पक्ष यो लाग्छ कि,”राम्रा.. सुखले ओतप्रोत दिन हुन या कष्टकर..दुखका क्षण ति सधैलाई रहदैंनन् । ति दिन ति बित्छन बित्छन । मानौं कुनै हप्ता दिनभरि घाम देखा परेन । हुस्सु कुहिरोले छोपिरह्यो । हामीलाई थाहा छ, ‘समय’ या ‘प्रकृति’को नियम नै त परिवर्तन हो । र यहाँ परिवर्तन हुन, कुनै बिहान हावा चलिरहेको हुनपर्छ । रुखहरु हल्लिरहेको हुनपर्छ । र सुर्यले लाली छरिरहेको हुनपर्छ । र ढिलोचाडो अवस्य यहि नै हुन्छ ।
यि सबै कुरा भनिरहदाँ, यसको अर्थ यो नजाओस कि समयकै पर्वहै गर्नु हुँदैन । भविष्यबारे सोच्नु नै हुँदैन । विगतलाई चटक्कै भुलिदिनुपर्छ । अहँ कदापि नसोचियोस यस्तो । प्रसिद्द कवि विलियम वर्डसवर्थ ले त मानेकै छन नि, “हिजो गरेको कार्यको फल आज हो यसर्थ पक्कै पनि आजको कामहरुको नतिजा भोली आउने छ ।“ र म कसरी यति पवित्र र सत्य विचारलाई झुटो ठहर्याउन सक्छु ।
तर कम्तिमा यो थाहा भएको छ कि, पछि मिल्ने या केहि चिजबाट प्राप्त हुने खुशि, सुख भनेका मृगतृष्णा मात्रै हुन । केहि पाएपछि एकछिन खुशी लागेजस्तो हुन्छ तर फेरि धमलिंदै जान्छ । मानौ मैले आईफोन एक्स किने । भनिसध्यै छैन,त्यतिबेला गजबको अनुभुति भो । ऐना अगाडी गएर केहि सेल्फ लिईहाले । फेसबुकमा साँझको समयमा फोटा अप्लोड पनि गर्दे । त्यतिले नि पुगेन माई स्टोरिज भन्ने गोला गोला ड्लाहरुमा पनि राखिहाले । र कमेन्ट खाईयो, मेसेज पाईयो, “वाह ! बधाई छ यार, नयाँ आईफोन !”,”मोज छ तेरो जिन्दगी त !” कसैले ‘लभ’ रियाक्ट हाने । कसैले ‘ओउ’ ! ‘लाईक’ वालालाई त कोल्ले हेर्न भ्याओस । त्यो दिन फेसबुकको भित्तै भरी मै छाए । आफुलाई सेलिब्रेटी भन्दा कम ठानिन, त्यो दिन ।
समय बित्दै जान्छ । बिस्तारै त्यहि कुरा सामान्य लाग्छ । फेरि मानौ कुनै दिन हरायो त्यो फोन । फेरि एक्कासी बेचैनी सुरु हुन्छ ।
“ल ! आईफोन यो यार । कहाँ छुट्यो होला ?”
यस्तै सोच्दै तनावमा परिन्छ । तर कतैबाट फेरि थाहा पाउछु कि आईफोन फेला पर्यो भनेर । र फेरि अकस्मात खुशी भैहालिन्छ । र आईफोन हुदाँहुदै पनि फेरि छिट्टै समयभित्र त्यो खुशी कता गायव भैदिन्छ । खै, किन होला ? खुशी त आईफोन भित्रै हुनुपर्ने हैन र ? आईफोन नहराउन्जेल खुशी नहराउनु पर्ने हैन र ?
अर्को उदाहरण ज्वरो आएर थला परेको बेला, महशुस हुन्छ कि,
“यत्ति ज्वरो निको भइदिएको भए के के गर्ने थे । कति धेरै काम छुटिरहेका छन । तनदुरुस्त भैदिएको कति मजा आउने थियो ।“
तर सधै त रहँदैन ज्वरो । निको भईसकेपछि भने बिरामीबेला “मजा आउने थियो” भनेको “मजा” खै भित्रैबाट महशुस कमैले गर्छन होला ।
मैले अन्तिममा पनि दोर्हयाए, कि म पनि तिनै हतारवालाको एउटा सदस्य हुँ । म पनि खुशी किन्न, भेटाउन दौडिरहेको छु । मलाई पनि भौतिक चिजले असाध्यै खुशि दिन्छ । तर मबाट फेरि यो ‘खुशी’ भन्ने चिज तुरुन्तै हराईहाल्छ । फेरि मसँग नभएको अर्को चिजमा म खुशी देख्छु । र दौडिन्छु हरेक दिन त्यो समाहित खुशी भेटाउन । अन्तहिन खुशी । मरुभुमिमा कतै हराएको घुमन्ते जो पानीको खोजिमा यताउता भौतिरहन्छ, त्यसतै छ मेरो हाल । मै जस्तै मेरै मित्रहरुको कहानी हो यो । र उनिहरुमै समर्पित पनि छ । यस्तो बेहाल हुदाँहुदै पनि तर पनि कतै मनभित्रको अध्यारो कुनाबाट एउटा आवाज आईरहन्छ ।
“आउ आज भुली दिउ भोलिको चिन्ता ।
केहि न केहि ईन्तजाम त जरुर छ ।
बढी भए,
शताब्दीमै नपरेको मुसलधारे पानी पर्ला ।
तर त्यसपछि के ?? तर त्यसपछि…..
शिरशिर बताससँगै सुर्यको लाली उदाउनु त जरुर छ ।“
तस्विर स्रोतः रोसन ढकाल