मेरो रुम
रुम पनि साला रुम जस्तो छैन । …
यो देख्दा साच्चिकै म रुनु कि हास्नु दोधारमा छु,
हिजो राती हतार गरी गरी आठै बजे सुतेको सिरक
अहिले बिहान १२ बजे सम्म नि उठ्न मान्दैन ।
तन्ना एकै ठाउँ कच्याककुचुक परेको छ,
सिरानी त्य्सै ठुस्स परेको छ ।
हिजै साँझको फोहोर कराइ निच्च दाँत देखाइ बसिराखेको छ,
नुहाउनै मान्दैन ।
ग्यास चुलोले अन्तिम पटक कहिले नुहायो,
उ आफैलाई याद छैन ।
भित्ताको कुनामा यति धेरै जालो छ कि,
कुन दिन माकुरी आफ्नै जालोमा फस्छ थाछैन ।
त्यो जुत्ताको श्रीमान् मोजाको दुर्गन्ध बयान गरी साध्य छैन,
सुग्न नसकेर मोजा बेला बेलामा आफै बेहोस हुने गर्छ ।
रुममा विपरीत सुगन्ध यति छ कि,
आफैलाई रोग सर्ने डरले मच्छरहरू ढोकाबाट भित्र छिर्न मान्दैनन् ।
यता बासी भात खादा खादा,
कुन दिन साङ्लाहरू हात्ती हुने हुन भन्ने पिर छ ।
उता मुसाहरू आफ्नो अस्तित्व जोगाउन,
दिनको एक हजार तीन सय त्यात्तिस पटक एउटै बाटोमा रेलको गतिमा कुदिरहन्छन ।