Logo

नेपालबारे के भन्छन् कतारी राजकुमार शेख मोहम्मद ?



Spread the love

२९ कार्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्कन लागेका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लालाई सम्मान गरेका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रमबीच मन्त्री भट्टराईले कोभिड–१९ को महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको भन्दै राकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे ।

राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार आठ सय १४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेको थियो । उक्त आरोहण अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण थियो । राजकुमारसहितको आरोही टोलीमा छ जना आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियाली आरोही सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा छ विदेशी र आठ नेपाली सहभागी थिए ।

पर्यटनमन्त्री भट्टराईले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुदैँ गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । उनले भने, “दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुशीको कुरा हो । म विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।”
सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौँ पटकको यात्रा हो । सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीनपटक सगरमाथाको आधार शिविर पुग्नुभएको छ । नेपालका अन्य पर्यटकीय गन्तव्यमा पाइला चुमेका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको भन्दै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरी पनि नेपाल आउने चाहना प्रकट गरे । उनी आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।

यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर यही कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्