Logo

शिलान्यास भएको १ वर्षपछि नागढुङ्गा सुरुङमार्ग निर्माण कार्य सुरु



Spread the love

काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरूङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए ।

निर्माणपछि सुरुङमार्गको पूर्वीद्वार यस्तो देखिने छ ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनले भने, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

नेपालको सडक यातायातको इतिहासमा पहिलोपटक निर्माण भइरहेको यस नागढुंगा सुरुङ मार्गको विस्तृत जानकारी दिने तथा यसको परिकल्पना, योजना, निर्माण, र विकास कार्यमा संलग्न व्यक्तित्वहरूसँग छलफल-अन्तरकृया गर्ने हेतुले नेपाल भूप्रविधि समाज (एनजीएस)ले यही भदौ २७ गते शनिबार जुम वेबिनार गर्दैछ । इच्छुकले सहभागिता जनाउन सक्नुहुन्छ ।

रजिष्ट्रेशन लिंकः https://nren.zoom.us/webinar/register/WN_-whzVlKBQwm3Bzz7QNdMXw

सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गरेका थपलियाले अनुगमनका क्रममा आफूले निर्माणकार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिए । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । “निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए यथाशीघ्र सम्पर्क गर्न आयोजना निर्देशकलाई भनेको छु,” उनले भने, “अब कुनै समस्या देखिँदैन, देखिएको नयाँ समस्यालाई यथाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने छ ।”

सिस्नेखोला पश्चिमी द्वारको डिजाइन यस्तो देखिने छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम भइरहेको जानकारी दिए । दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उनले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=u-5FyyIFRTQ&t=6s
नागढुंगा सुरुङमार्ग परियोजनाबारे सहयोगी संस्था जाइकाले तयार पारेको भिडियो

करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ । मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माणकार्य निर्धारित समयमा नै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै थापाले हरेक दिन चारवटा विस्फोट गराइने बताए । कोरोना सङ्क्रमणबीच पनि दूरी कायम गर्दै अहिले दुई सय जना जनशक्ति खटिरहेको उनले बताए ।

सुरुङमार्गको प्यानारोमिक भ्यु ।

अहिले राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको छ । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ ।

निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले तर्काउने काम भइरहेको महाशाखाका प्रमुख थापाले बताए । उनले भने, “आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला तर्काउने काम भइरहेको छ, खोला भएको ठाउँमा सुरुङमार्गको नियन्त्रण कक्ष निर्माण गरिने छ ।”

सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगेको थापाले बताए । उनका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिन लगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरणहरू जापानबाट नेपाल आइसकेको छ ।

यो सुरुङमार्ग जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारले आन्तरिक स्रोतबाट ६ अर्ब बेहोरेर निर्माण थालिएको हो । सरकारको नीति तथा कार्यक्रममा कुल लम्बाइ २.७ किलोमिटर रहेको यस सुरुङमार्गको आर्थिक वर्ष २०७७÷७८ मा एक किलोमिटर निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

(समाचार साभारः गोरखापत्र दैनिक, भउचप्रसाद यादव ।)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्