Logo

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई गुहारे



Spread the love

२१ असार, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा अहिले देखिएको समस्याबारे मन्त्री र राज्यमन्त्रीहरुसंँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ मन्त्रीहरुलाई नेकपामा देखिएको समस्याबारे प्रधानमन्त्रीले अवगत गराएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।

‘पार्टी विभाजनका चरणमा प्रवेश गरेकाले’ त्यसलाई रोक्नका लागि सहयोग गर्न सबै मन्त्रीलाई प्रधानमन्त्रीले आग्रह गरेको राज्यमन्त्री रावतले बताए । ‘‘पार्टी एकता जुन ढङ्गले भएको थियो, त्यही गतिका साथ पार्टीकै शीर्ष नेता नलागेर बेठीक ढङ्गले लाग्नुभयो’’, प्रधानमन्त्रीलार्ई उद्धृत गर्दै रावतले भन्नुभयो, ‘‘पार्टी एकता गर्दा जे सहमति, सहकार्य गरिएको थियो, त्यस विपरीतका क्रियाकलाप हुन थाल्यो । त्यसैले पार्टी एकता कायम गर्न मलाई सहयोग गर्नुहोस् । ’’

बैठकमा आफूले प्रधानमन्त्री र अध्यक्ष दुवै नछाड्ने जनाउँदै नेता ओलीले पार्टी एकता गर्दाको सहमतिअनुसार आफू चल्ने बताएको रावतले जानकारी दिए । बैठकमा मन्त्रीहरुले पार्टी अल्पमत वा बहुमतमा नभई विधानअनुसार दुवै अध्यक्षले चलाउनुपर्ने जनाउँदै पार्टी एकता जसरी भए पनि कायम राख्नुपर्नेमा जोड दिएको राज्यमन्त्री रावतले बताए । रावतका अनुसार मन्त्रीहरुले पार्टीका शीर्ष नेताका विरुद्ध बाहिर सञ्चारमाध्यममा आएका समाचार विश्वसनीय नभएको जनाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसंँग छलफल गरेपछि साँझ ७ बजे प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्का सदस्यसंँग छलफल गरेका थिए । छलफलमा सबै मन्त्री र राज्यमन्त्रीको सहभागिता थियो । केही दिनदेखि पार्टी एकतामा समस्या देखिएपछि प्रधानमन्त्री ओली र अन्य शीर्ष नेताहरु छलफलमा व्यस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्