Logo

कोरोना कहर : ७ लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित



Spread the love

२८ बैशाख, एजेन्सी – इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ ।

संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य सङ्कटको कारण आर्थिक कठिनाइ झनै नराम्रो भएको कारण केटाकेटीको आवश्यक न्यूनतम आहारामा निकै कमी भएको हो ।

“इटलीमा दुध वा खाना लिन सहयोग चाहिने १५ बर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या सात लाख रहेको छ,” कोल्डरेट्टीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

यो सङ्कटले गरिबलाई थप गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरूलाई साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको विज्ञप्तिमा बताइएको छ ।

कागजीरूपमा वैधता नपाएका कामदारहरू पनि महामारीका कारण नराम्ररी प्रभावित बनेका छन् । सामान्यतया उनीहरूको कुनै बचत हुँदैन र काम गर्न नसक्दा राज्यबाट पाउने सहयोगको कुनै बाटो नै रहँदैन । दक्षिणी इटलीमा यसरी कठिनाई भोग्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

इटलीमा सङ्कटका कारण खाद्यान्नमा मूल्य वृद्धि भएको छ । इटलीमा महामारी पहिलेको तुलनामा महामारीको समय अप्रिलमा फलफूलमा ८.४ प्रतिशत, तरकारीमा पाँच प्रतिशत र दूधकोेमा ४.१ प्रतिशतले मूल्यवृद्धि भएको बताइएको छ ।

यद्यपि इटलीमा सक्रिय सयौँ धार्मिक संस्था तथा परोपकारी संस्थाहरूले यथोचित सहयोगको प्रयास गरेपनि एक साथ ठूलो सङ्ख्यामा सहयोग गर्नुपर्दा कठिनाई भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्