Logo

२०७६ नेपाली खेलकुदको लागि कस्तो रह्यो?



Spread the love

१ वैशाख, काठमाडौँ । २०७६ नेपाली खेलकुदका लागि निक्कै अविस्मरणीय वर्षका रूपमा रह्यो । नेपाली खेलकुदले १३ औँ दक्षिण एसियाली खेलकुद साग वर्षौँसम्म याद गर्ने वर्ष बन्न सफल भयो । सागमा ५१ स्वर्ण, पौडीमा गौरीका सिंहको कीर्तिमान, महिला भलिबलमा छलाङ र नेपाल क्रिकेट सङ्घको निलम्बन फुकुवाले वर्ष यादगार बनेको छ ।

१३ औ साग नेपालको प्रमुख उपलब्धि हो । नेपालले दुई दशकपछि काठमाडौँ, पोखरा र जनकपुरमा सफल आयोजना गर्दा नेपाली खेलाडीको प्रदर्शन समेत उत्साहजनक रह्यो । १० दिन चलेको प्रतियोगिताको खेल पहिलो पटक काठमाडौँ बाहिर पनि भयो । सागमा नेपालले अहिले सम्कै सर्वाधिक ५१ स्वर्ण जितेर ऐतिहासिक उपलब्धि हात पार्दा ६० रजत र ९५ कांस्यसहित २०६ वटा पदक जित्यो । यसअघि १९९९ मा नेपाल मै भएको ८ औँ सागको ३२ स्वर्णको रेकडसम्म तोड्न सफल भयो । पौडीमा गौरीका सिंहले ४ स्वर्ण जित्दै कीर्तिमान रचिन। यसअघि तेक्वान्दोका दीपक विष्टले सागमा ४ स्वर्ण जितेका थिए । यस्तै तेक्वान्दो र करातेमा पुरानो साख जोगाउन खोज्दा बक्सिङमा दशकपछि स्वर्ण जित्यो । यता, साइक्लिङ, गल्फ , कुस्ती जस्ता खेलमा नेपालले पहिलो पल्ट स्वर्ण जित्यो । तर, सुटिङका खेलाडीले प्रतिद्वन्द्वी खेलाडीबाट खेल सामग्री मागेर खेल्नु पर्ने बाध्यता रह्यो ।

सागकै लागि केही खेलकुद पुर्बधारहरु बन्दा भूकम्पपछि पूर्ण निर्माण भएको दशरथ रङ्गशालामा खेल फर्कियो । दशरथ रङ्गशालामा पुरुषतर्फका खेलबाट स्वर्ण जित्नुको साथै सहिद स्मारक ए डिभिजनका खेलहरु पनि सम्पन्न भयो । जसमा त्रिभुवन क्लबलाई १-० ले हराउँदै पहिलोपल्ट मच्छिन्द्र क्लब उपाधि उचाल्न सफल भयो । यही लिगमा सन्तोष साहुखल १०० गोल पुरा गर्दै कीर्तिमान बनाउन सफल भए । रङ्गशालामै विश्वकप छनोटको खेल आयोजना हुने भनेता पनि मैदान पूर्णरुपमा ठिक नहुँदा मङ्सिर ३ गते भुटानमा गएर खेल्नु परेको थियो । विश्वकप छनोट अन्तर्गत नेपालले ४ अबे खेल खेलिसकेको छ । जसमा एक खेल जित्दा ३ खेलमा पराजय व्यहोर्यो । विश्वकप छनोट अन्तर्गत नेपालले यही वर्षको अन्त्यतिर नेपालले चाइनिज ताइपे र अस्ट्रेलियासँग खेल्ने तय थियो तर, विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिदा खेल गतिविधि ठप्प भएको छ। विश्वकप छनोट खेल्न जानुअघि नेपाली राष्ट्रिय टोलीका ४ खेलाडीको डिस्को काण्डले पनि सनसनी मच्चायो । त्यस्तै महिलातर्फ नेपाल १३ औ सागमा उपविजेता बन्दा टोकियो ओलम्पिकमा दोस्रो चरणको छनोटमा पुग्न सफल भएको छ ।

२०७५ साल अन्त्यमा केही खेल सुरु भए पनि २०७६ वैशाख ५ देखि ११ सम्म प्रदेश ५ का विभिन्न जिल्लामा राष्ट्रिय खेलकुदको आठौँ संस्करण आयोजना भएको थियो। हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद लामो समयपछि निर्धारित समयमै आयोजना गरिएको थियो ।

अर्का लोकप्रिय खेल क्रिकेटका लागि यो वर्ष मिश्रित रह्यो । नेपालमा भएको १३ औँ सागमा नेपाललाई स्वर्ण जित्ने अवसर थियो । तर सागमा पनि खराब प्रदर्शन गर्दै कांस्यमा चित्त बुझायो । नेपाल तुलनात्मक रूपमा कमजोर टोली सिंगापुर र कतारसँग पराजित हुँदै टि२० विश्वकप २०२० को यात्राबाट बाहिरिएको थियो । नेपालले असोजमा सिंगापुर, जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेलेको थियो । यस वर्ष प्रशासन क्षेत्रमा केही सुधार हुँदा उतारचढाव रह्यो । आइसिसीले क्यानमाथि तीन वर्ष देखी लगाएको प्रतिबन्ध असोज २७ मा सर्सत रूपमा फुकुवा गर्‍यो । जुन वर्ष नेपाली क्रिकेटको सर्वाधिक ठुलो उपलब्धि मान्नुपर्छ । क्यानले पनि नयाँ नेतृत्व पायो । तर एक दशकदेखि नेपाली क्रिकेटको कप्तानी सम्हाल्दै आएका पारस खड्काले निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक्कासि राजीनामा दिँदा त्यो खुसी लामो समय टिक्न पाएन ।
लगातार राम्रो प्रदर्शन गर्दै आएका पारसको एक्कासि राजिनामाले सबैलाई आश्चर्य पार्‍यो ।

२०७६ साल नेपालको महिला भलिबलका लागि स्वर्ण समय रह्यो। बङ्गलादेशमा आयोजित एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले स्वर्ण जित्यो।महिला टोलीले १३ औँ सागको सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गरी ऐतिहासिक फाइनल यात्रा तय गरेको नेपालले भारतसँग पराजित हुनुपरे पनि दुई सेट जितेर अर्को इतिहास बनायो।

त्यस्तै ब्याडमिन्टनमा किशोर खेलाडी प्रिन्स दाहालले केही सम्भावना देखाएका छन्। प्रिन्स ब्याडमिन्टन जुनियर विश्व वरीयताको सातौँ स्थानमा छन्। यो नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो।

मैदान बाहिर पनि देश सङ्गीयतामा प्रवेश गरेसँगै प्रक्रियामा रहेको खेलकुदको नयाँ विधेयक संसद्को दुवै सदनबाट पारित भएपछि अहिले प्रमाणीकरणको तयारीमा रहेको छ । त्यस्तै घरेलु टोलीको दुई महत्त्वपूर्ण अङ्ग राखेप र नेपाल ओलम्पिक कमिटीको चुनाव यसै वर्ष सम्पन्न भयो । तर, वर्षको अन्तिममा कोरोना भाइरस विश्व महामारीको रूप लिँदा नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितादेखि विभिन्न घरेलु प्रतियोगिता भने अनिश्चित बनेको छ। कोरोना भाइरस (कोभिड १९) को कारण २०७७ मा नेपालले पहिलो खेल कहिले र कहाँ खेल्ने भन्न सक्ने अवस्था छनै ।

प्रतिक्रिया दिनुहोस्