Logo

पर्यटनमा परेको असरको अध्ययन गर्दै सरकार



Spread the love

३० चैत, काठमाडाैँ – कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको छ ।

सरोकारवाला व्यवसायीले पर्यटन क्षेत्रमा भएको असरबारे विभिन्न धारणा ल्याइरहेका छन् । कोभिडको प्रभावले नेपालको पर्यटन क्षेत्रमा के कस्तो असर पर्यो र कति सङ्ख्यामा रोजगारी गुम्यो भनेर आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न सरकारले अध्ययन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन बमोजिम नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विवरण लिने काम शुरु गरेको छ । यो कामका लागि मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को समितिले पर्यटनसम्बन्धी तथ्याङ्क सङ्कलन गरिरहेको हो ।

उक्त प्रयोजनका निम्ति बोर्डले आज एक सूचना जारी गर्दै पर्यटकीय तथ्याङ्क सङ्कलनमा सहयोग गरिदिन पर्यटन व्यवसायी तथा सम्बद्ध निकायसँग आग्रह गरेको छ । अनलाइन सर्भेका लागि एयरलाइन्स, होटल, पर्यटकीय सवारीसाधन, जलयात्रा, पदयात्रा, पर्वतारोहण तथा ट्राभल एन्ड टूरलगायतको छुट्टा छुट्टै विवरणका लागि फारम भर्नुपर्ने हुन्छ । बोर्डका सिइओ डा धनन्जय रेग्मीले कोभिडका कारण पर्यटन क्षेत्रमा परेको असरबारे अनलाइन सर्भे शुरु गरिएको जानकारी दिए । उनले यो अभियानमा आवश्यक सहयोग गरिदिन पनि व्यवसायी समक्ष आग्रह गरे । “कोभिडले पर्यटन क्षेत्रमा के कति असर पुग्यो । यो क्षेत्रमा कति सङ्ख्यामा बेरोजगार भए र कतिले रोजगार पाएका छन् यसको वास्तविक अवस्था पत्ता लगाउन अनलाइन सर्भे थालिएको हो”, सिइओ रेग्मीले भने । पर्यटन क्षेत्रको अध्ययन गरी पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले अर्थमन्त्रालयसँग आवश्यक पहल गरिने बोर्डले जनाएको छ ।

पर्यटन क्षेत्रमा कोभिडको प्रभावलाई विस्तृत अध्ययन गरी पर्यटन क्षेत्रबाट पलायन भएकालाई कस्तो किसिमको रोजगारी दिन सकिन्छ अध्ययनका आधारमा निर्णय लिइने बताइएको छ । सम्भव भएसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत समेटिने र बाँकीलाई कुन खाले रोजगारी दिइने भन्ने यकिन गरिने सिइओ रेग्मीको भनाइ छ । उनले पर्यटन क्षेत्रसँग कृषि, पशुपालन, फलफूल, पुष्पव्यवसायलगायत क्षेत्रमा बहुआयामिक असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्ने अवस्था आएको उल्लेख गरे । पर्यटन क्षेत्रको अध्ययन गरी पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले अर्थमन्त्रालयसँग आवश्यक पहल गरिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्