Logo

ऐतिहासिक बिस्केट जात्रा पहिलोपटक रोकियो



Spread the love

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ ।

  यो जात्रा आउन अब दुईदिन बाँकी छ तर भव्य रुपमा हुनुपर्ने यसको तयारी भने रोकिइसकेको छ । विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको र  हजारौँको सङ्ख्यामा उपस्थित हुनुपर्ने जात्रामै पनि सङ्क्रमणको खतरा रहने भएकोले यसवर्ष यो जात्रा औपचारिक पूजामा मात्र सीमित हुने भएको हो । 

नेपाली साहित्य, संस्कृतिका अन्वेषक एवं संस्कृतिविद् सूर्यविनायक निवासी ८६ वर्षीय तेजेश्वरबाबु ग्वंगले विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलोपटक भएको बताए । 

उनी भन्छन्, ‘विगतमा भूकम्प, विपद् या जस्तोसुकै सङ्कटको समयमा पनि यो जात्रा रोकिएन तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमण रोक्न पनि हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउने जस्ता कार्य हुने भएकाले रोकियो ।’ यस्तो बेलामा जात्रा रोक्नु राम्रो भए पनि यसको ऐतिहासिकता जोगाउन ध्यान दिनुपर्नेमा भने त्यसो हुन नसकेको उनको भनाइ छ ।  रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतिकका रुपमा दुई चारजनाले लिङ्गो उठाएर परम्परा कायम राख्नुपर्ने उनी बताउँछन् । भैरवको रथ तान्दैगर्दा पल्टिएपछि मर्मत गरेर तान्ने, लिङ्गो उठाउँदा भाँचिए अर्को लिङ्गो उठाउने परम्परा रहेको बताउँदै उनी इतिहासलाई मर्न दिन नहुने बताउँछन् ।

भक्तपुरका सामाजिक अभियन्ता एवं बिस्केट जात्रा व्यवस्थापनमा वर्षौंदेखि सक्रिय टौमढीका ७५ वर्षीय अनन्तप्रसाद धौभडेल राष्ट्रिय विपत्तिमा समेत नरोकिएको बिस्केट जात्रा इतिहासमै पहिलो पटक रोकेर पूजामा सीमित हुनुपरेको बताउँछन् । 

‘लिङ्गो नउभ्याई खानै नहुने गुठीहरु पनि यहाँ छन्, २००९ सालमा लिङ्गो भाँचिएर तीन टुक्रा भएर तीनजनाको ज्यान जाँदा पनि अर्को लिङ्गो उठाएर पर्व मनाइयो, जात्रा मनाउन समस्या हुँदा नेपाली सेनाको टोलीले रथ तान्ने, लिङ्गो उठाउने गर्थे’ धौभडेलले भने, ‘जात्रालाई प्रतीकका रुपमा भए पनि मनाउनु पर्ने हो, सानो रथ बनाएर तलेजुको खड्ग ल्याई भैरवलाई रथमा राखेर पूजा गर्ने, प्रतीकका रुपमा सानो लिङ्गो उभ्याएर परम्परालाई जीवित राख्न सकेको भए हुन्थ्यो तर त्यो पनि नहुने भयो ।’

प्रहरीले चारैतिर घेरा राखेर भीड जम्मा हुन नदिएर भए पनि परम्परालाई रोक्न नहुने बताउँदै उनले जात्रा मनाउँदा तलेजुले जे मान्यो त्यही गर्ने चलन भए पनि यसवर्ष तलेजुसँग कुनै छलफल नै नभएको भन्दै उनले प्रशासनले जात्राको मौलिकतालाई मर्न दिन नहुने बताउँछन् । यसवर्ष बिस्केट जात्रासँगै भक्तपुरमा मनाइने विभिन्न देवीदेवताका खट जात्राहरु पनि रोकिई औपचारिक पूजामा मात्र सीमित हुने भएका छन् ।

 भक्तपुरको दूधपाटी निवासी इतिहास तथा पुरातत्वविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ इतिहासमा बिफर, हैजा रोगको महामारी हुँदा पनि नरोकिएको बिस्केट जात्रा यसवर्ष कोभिड–१९ ले अवरुद्ध पारेको बताउँछन् । जस्तोसुकै सङ्कटमा पनि जनता र प्रशासन मिलेर जात्रा सम्पन्न गर्ने परम्परा थियो, अपार जनशक्तिको बलमा विश्वनाथ भैरव, भद्रकालीको रथ तान्नुपर्ने, लिङ्गो उठाउनुपर्ने भएकाले अहिलेको महामारीमा जात्रालाई पूजामै सीमित गर्नुपरेकोे बताउँछन् । उनी बिस्केटमा विश्वनाथ आकाश भैरवको पूजा मुुख्य रहने बताउँदै अहिले विश्व सङ्कटका रुपमा आएको कोरोना भाइरसको महामारी हटाउन सङ्कल्प पूजा गर्नु उत्तम हुने बताउँछन् ।

ऐतिहासिक राष्ट्रिय अभिलेखालयमा नेपाल संवत् ७४१ मा चैत शुक्ल पूर्णिमाकै दिन भैरवको रथ पल्टिएको र यसबाट ठूलो अनिष्ट हुन्छ भनेर टोलटोलबाट पूजा एवं बलि तथा सरकारी क्षमापूजा गरिएको बताउँदै जात्रा नै रोकिएर पूजामा सीमित गर्नुपरेको भने यो पहिलो घटना भएको बताउँछन् ।

एउटा मान्छेसँग अर्को मान्छे डराउनुपर्ने अहिलेको महामारीको बेलामा विधिविधानअनुरुप पुजारीहरु मिलेर पर्वलाई औपचारिक पूजामा सीमित गर्दा परम्परा पनि नरोकिने र सङ्क्रमणको जोखिम पनि नरहने उनको धारणा छ । जीवन रहेमात्र जात्रा पर्व रहन्छन् भन्दै महामारीलाई जित्नसके अर्कोवर्ष भव्य रुपमा जात्रा मनाउन सकिने डा.श्रेष्ठ बताउँछन् ।

बिस्केट जात्रामा तलेजुको मुख्य भूमिका रहने भए पनि यसवर्ष तलेजुको पूजा पनि रोकिएर औपचारिक पूजामात्र गरिनेछ । करिब ४७ वर्षदेखि तलेजुका मूल नाइके सम्हाल्दै आएका नरेन्द्रप्रसाद जोशीले बिस्केट जात्रा रोकिएको इतिहासमा कहिल्यै थाहा नभएको बताउँदै भन्छन्, ‘मेरो बुबा ईश्वरीप्रसादले ५० वर्ष तलेजुको मूल नाइके भएर सेवा गर्दा बिस्केट जात्रा रोकिएको कहिल्यै भन्नुभएन, मैले ४७ वर्ष भयो सेवा गरेको, मलाई पनि थाहा छैन ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिमा जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय भएको जानकारी दिए ।  जात्रा चलाउँदै आएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले विश्व महामारीको जोखिमलाई रोक्न यसवर्ष औपचारिक पूजामा मात्र जात्रा सञ्चालन गर्ने निर्णयअनुसार नै रथ निर्माण रोकिएको बताए । यसवर्ष जात्रामा पूजारीले भैरव, भद्रकालीसहित सबै देवीदेवताका पूजाहरु विधिवत् रुपमा गर्ने र कुनै अनिष्ट हुन नदिन ज्योतिषहरुसँगै परामर्श गरेर पूजा गर्ने तयारी गुठी संस्थानले गरेको उनले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस्