Logo

कोरोनाको महामारीलाई रोक्न विश्वले के सिक्ने त चीनबाट ?



Spread the love

एजेन्सी । यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ र स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४६ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ९ लाख ३२ हजारभन्दा बढी पुग्दा एक लाख ९३ हजारभन्दा बढी निको भएका छन्।

बिहिबार बिहानसम्म चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३३१२ पुगेको छ भने संक्रमितको संख्या ८१५५४ पुगेको छ । निको भएर घर फर्कनेको संख्या ७६२३८ पुगेको छ ।कोभिड-१९ ले माहामारीको रुप लिएपछि चीनका राष्ट्रपति सी चिनफिङले ‘जनयुद्ध’ घोषणा गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लकडाउन गर्दै यसविरुद्धको लडाइँलाई ‘महाभारत’ को युद्धसँग तुलना गरेका थिए । नेपालका प्रधानमन्त्री ओलीले भने यसविरुद्ध लड्न दृढ इच्छाशक्ति र आपसी एकताका लागि अपिल गरेका थिए ।

चीन यतिबेला कोराना भाइरसविरुद्ध विजयोन्मुख छ भने नेपाल र भारत एलो जोनमा छन्। कोरोना भाइरस रोक्ने अभियानमा दुवै देश लकडाउन छ । वुहानमा कोरोना भाइसरको महामारी मच्चिँदा चीनले के गरेर नियन्त्रणमा ल्यायो त्यो जान्नु आवश्यक छ।

डिसेम्बर अन्त्यतिर वुहानमा देखिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनले यी कामहरु सुरु गरेको थियो।

पूर्ण जिम्मेवारीसाथ काम
वुहानमा संक्रमण थप फैलनबाट रोक्नु पहिलो सहर पूरै सिल गरियो। बिरामीको उपचारका लागि वुहानमा उपचार गर्न ८६ अस्पताल तोकियो। घरघरमा सन्देश पुर्‍याइयो। ‘मास्क लगाउनुस्, साबुनपानीले हात धुनुस्, भीडमा नजानुस्, सेल्फ आइसोलेसनमा बस्नुस्।’

मेडिकल सामग्री सहरमा खन्याइयो
वुहानमा देखिएको महामारी विश्वभर फैलिन्छ भन्ने अनुमान एक महिनापछि भइसकेको थियो। ‘चीनको भाइरस’ हो भन्ने मानसिकताले त्यसलाई रोक्ने काम नहुँदा हाल विश्व संक्रमणको चपेटामा परेको छ। महामारी फैलिएपछि वुहानलगायत अरु भाइरस फैलिएका सहरमा मेडिकल स्रोत खन्याइयो। चीनको अरु क्षेत्रबाट ४२ हजारभन्दा बढी मेडिकल स्टाफ वुहान पुगे, त्यसमा सेना र सुरक्षा बलका स्वास्थ्यकर्मी पनि थिए।

राजनीतिक दृढता
चीनले १९४९ पछि यति ठूलो जनस्वास्थ्य आपतकालीन अवस्था कहिल्यै सामना नगरेको चिनियाँ कम्युनिस्ट पार्टीको बुझाइ छ। राष्ट्रपति सीले यो महामारी सरकारका प्रणाली र क्षमताका लागि परीक्षण भएको बताएका थिए।

समयमै नीति समायोजन
चीनले पनि महामारी फैलिएपछि आन्तरिक उडान ढिलै भए पनि बन्द गर्‍यो। स्कुल, कलेज, विश्वविद्यालय, ठूला बैठक, समारोह, सार्वजनिक र निजी यातायात बन्द गरियो।

आर्थिक व्यवस्थापन सहज
चीनले भाइरसविरुद्ध लड्न आर्थिक अभाव हुन दिएको थिएन। चीनले मूल्यवृद्धि नियन्त्रण र कारबाही तीव्र पारेको थियो।

पारदर्शिता र समन्वय
महामारीका लागि चिनियाँ अधिकारीले पारदर्शिता समन्वयका लागि विश्व समुदायसँग प्रतिबद्धता जनाएका थिए। चीनले महामारी देखिनेबित्तिकै अन्तर्राष्ट्रिय अरु देशलाई उसले पारदर्शिताको प्रतिबद्धता जनायो। सय देशमा उपचार पद्धतिबारे फाइल सेयर गरेको थियो।

विज्ञानको शक्ति र प्रविधि
कोरोना भाइरस महामारी भएपछि चीनलाई पनि कसरी उपचार गर्नेबारे थाहा थिएन। चीनले अनलाइनबाट बिरामीलाई सेवा दिएको थियो।

प्रतिक्रिया दिनुहोस्